मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुका बिभिन्नमा आइतबार साँझसम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् भने ८५ जना क्वारेनटाइनमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाए अनुसार जिल्लाका १० पालिकाका क्वारेनटाइनमा ८५ जना रहेका छन् ।
उनीहरु कसैमा कोरोनाको जोखिम नरहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । १० वटा स्थानीय तह रहेको कपिलवस्तुका हरेक पालिकामा २ सय ४२ क्वारेनटाइन बेड रहेका छन् । उहाँले जिल्लामा ८ वेडको आइसोलेसन कक्ष रहेको जनाउनुभयो ।
तर कपिलवस्तुमा कसैलाई पनि आइसोलेसनमा राखिएको छैन् । स्थानीय तह तथा प्रहरीले भारत तथा तेस्रो मुलुकबाट आउनेहरु माथि विशेष निगरानी बढाएको छ । प्रहरी प्रशासनले निगरानी बढाए पनि तेस्रो मुलुकबाट आउनेहरु लुकेर घरमै बस्ने गरेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको पनि पौडेलले बताउनु भयो ।
भारतीय सिमा नाकासंग जोडिएको कपिलवस्तुमा कोरोना भाइरस संक्रमण रोक्नको लागि प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो दिन सर्वसाधारणले पनि निशेधाज्ञा पालना गरेको पनि उहाँले मायादेवी अनलाइनलाई बताउनु भयो । यस्तै बाहिरी मुलुकबाट आउनेको निगरानी पनि बढाएको छ । कोरोनाको लक्षण देखिने र भारत लगायत तेस्रो मुलुकबाट आउनेलाई राख्नको लागि क्वारेनटाइन स्थापना गरिएको छ ।
१६ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया