मायादेवी अनलाइन, चारनम्बर ।
फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले रातारात मुलकलाई ‘लकडाउन’ गर्ने निर्णय गर्यो । सरकारको यो निर्णयले सबै अचम्ममा परे । कोरोनाको जोखिमबाट बच्न सरकारले ढिलो चाँडो ‘लकडाउन’ गर्न त पथ्र्योँ नै तर सरकारले एक्कासी यस्तो निर्णय गर्छ भनेर कसैले सोँचेका थिएनन् । सरकारले लकडाउन गरेपछि मानिसहरु रातारात आ–आफ्नो क्षेत्रबाट घर फर्कन कुम्लो कसे । कति बीचमै अलपत्र परे त कति घर आउन पाएनन् । सरकारले अब चैत्र १८ गतेसम्म लकडाउन गरेको छ । यो बीचमा अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् भने सरकारले अनुमति दिएका अत्यावश्यकीय सेवाहरु मात्र संचालन हुने छन् ।
सरकारले देशभर लकडाउन त गर्यो तर जनताले लकडाउनको अर्थ नै बुझेनन् । सरकारले लकडाउन गरेपछि जुन परिस्थितिको अपेक्षा गरेको थियो, अंकमा भन्ने हो भने ७५ प्रतिशत मात्र सफल भयो भन्दा हुन्छ । देशभर एक प्रकारले लकडाउनको उल्लङ्घन भयो ।
कपिलवस्तुमा पनि सर्वसाधारणले लकडाउनको अर्थ बुझ्न सकेनन् । निर्वाध रुपमा अनुमति बेगरका सवारी साधन चले भने निर्माण सम्बन्धि कामहरु पनि विहानभर भए । जिल्लाका कृष्णनगर, तौलिहवा, चन्द्रौटा, चारनम्बर लगायतका महत्वपूर्ण स्थानमा लक डाउनको बीचमा यस्तै गतिविधि भए । यस्तो किन भयो भनेर मायादेवीले निगरानी गर्दा धेरैले लकडाउनको अर्थ नबुझेको पाइयो । धेरै त रहरै रहरमा सडक हेर्नका लागि आएका रहेछन् ।
यस्तै कतिपय कामकै लागि बाहिर निस्केको पाइयो । यो क्रम लगभग ९ बजेसम्म जारी रहेको थियो । ठाउँठाउँमा प्रहरी तैनाथ रहेर निगरानी गरे पनि प्रशासनमा लक डाउन उल्लङ्घन गरेको जानकारी बारम्बार गइ सकेपछि जिल्ला प्रशासन कार्यालयले निर्मम निर्णय लियो । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले विहान ९ बजेपछि कर्फ्यू घोषणा गरेपछि भने जिल्ला सुनसान बनेको थियो । तै पनि कर्फ्यू उलंघन गर्ने १० जना पक्राऊ परे भने ५० वटा नियम विपरित गुडेका मोटरसाइकल प्रहरीले जफत गरेको छ । अब चैत्र १८ गतेसम्म कर्फ्यूको अवधिमा नियम विपरित चल्ने ब्यक्ति र सवारी साधन उम्कन नपाउने प्रजिअ पौडेलले बताउनु भएको छ ।
मुलक लकडाउन भएको अवस्थामा जिल्लामा एक्कासी कर्फ्यू लगाउनु पर्ने अवस्था किन आयो त ? यस विषयमा प्रशासनले दुईथरी कुरा गरेको छ । एकातर्फ नेपालमा कोरोना फैलने जोखिम उच्च रहेकाले त्यसैलाई कम गर्नका लागि सामाजिक दुरी कायम गर्न कर्फ्यू लगाइएको छ भने अर्को तर्फ लकडाउनलाई संवेदनशील समय नबुझेका कारण पनि कर्फ्यू लगाउनु परेको बताएको छ । छिमेकी राष्ट्र भारत र त्यहाँको उत्तर प्रदेशमा कोरोनाको कारण संक्रमित र मृतकको संख्या बढिरहेकाले खुला सिमानाका कारण जोखिम बढ्न सक्ने आँकलन गर्दै कर्फ्यू लगाउनु पर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।
समयमै सचेत रहन नसक्ने हो भने यसको भयावह स्थिति हुन सक्ने भन्दै आफूले बोल्ड डिसिजन गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । यता आम नागरिकलाई लकडाउनमा जस्तो गरी लापबाही नगर्न सुझाउनु भएको छ । प्रशासनको अनुमति विना कोही घर बाहिर निस्केको पाइए त्यसलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउने उहाँको भनाई छ । यो बेला घरमै बसेर सरकारलाई सघाएमा असल नागरिकको दायित्व पुरा हुने प्रजिअ पौडेलको भनाई छ । उहाँले देशभर नै लकडाउनको बुझाईप्रति कम जानकारी रहेको बताउनु भएको छ ।
११ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया