दीपा महत, चारनम्बर ।
कथाकथित राजनीतिक दल र विभिन्न शक्तिले गर्ने नेपाल बन्दमा सित्तिमिति बाहिर ननिस्कने कपिलवस्तुबासी मंगलबार सरकारले गरेको ‘लकडाउन’लाई भने सामान्य रुपमा हेरेको पाइएको छ । विश्वभर महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) नेपालमा पनि भेटिए पछि सरकारले मंगलबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेको छ । तर, नागरिकहरुले यसलाई सामान्य रुपमा लिदै उही हिजोअस्तीको जस्तै जमघट, भीडभाड, आवातजावत र निर्माण सम्बन्धि काम धमाधम गरिरहेका छन् ।
वाणगंगाको गजेहडा क्षेत्रबाट झण्डै १५÷२० जनाको संख्यामा साइकलको प्रयोग गरी मजदुरहरु विहान सँवा ८ बजे चारनम्बरको बाटो हुँदै निस्किए । उनीहरुको लामबद्धता देखेपछि सुरक्षाकर्मीले रोके । किन यसरी हिडेको ? आजदेखि सबै घरमा बस्नुपर्छ भनेर सुरक्षाकर्मीले के सम्झाउन भ्याएका थिए, उनीहरुले कड्किदै भनेः राज्यले हाम्रो पेट भर्न सक्छ ? ती समूहको यो आक्रमक स्वर सुनेर सुरक्षाकर्मी नाजवाफ भए । दुई चार जना सुरक्षाकर्मी रहेकोले उनीहरुलाई रोक्न सकेनन्, मजदुरहरु आफ्नै गन्तव्यमा हिँडे । ती मजदुरहरु वाणगंगा नदीमा नदीजन्य पदार्थ निकाल्न जान लागेका हुन् ।
एकाविहानै समाजका चर्ताफूर्ता व्यक्ति आ–आफ्नो सवारी साधनमा हँुईकिरहेका देखिन्थे । चिल्ला कारमा चढेर मस्त तरिकाले हुँईकिएका ती व्यक्तिले सरकारले गरेको ‘लकडाउन’ लाई अति सामान्य रुपमा हेरेको पाइयो । कुनै राजनीतिक दलले गरेको बन्दमा केही हुन्छकी ठानेर मस्त घरमा बस्ने यो बर्ग सरकारको ‘लकडाउन’ मा कारमा मस्त कुदेका छन् ।
चारनम्बर चोकमा बसेका सुरक्षाकर्मीले कार कुदेको देख्दा रोक्न खोज्छन्, तर तिनीहरु टेर्दैनन । उल्टै सुरक्षाकर्मीले सर नमस्कार भन्दै यो बेलामा तपाई जत्तिको बुझेको व्यक्ति घरमा बस्न पर्दैन भनेर सम्झाउँछ । तर, उनीहरु कुरै सुन्दैनन । बरु गोजीबाट आईफोन लगायतका महत्वपूर्ण फोन कानमा राखेर मोबाइल गफमा मस्त देखिन्छन । लाग्छ, सुरक्षाकर्मीले रोक्दा उनीहरुले मज्जाले फोन गर्ने समय पाए । किनकि सवारी हुँईकाउँदा फोन उठाउदा ज्यानै असुरक्षा हुन्छ भन्ने उनीरु राम्रोसंग बुज्दछन ।
समाजमा केही सम्पत्ति भएका र अलि पढे लेखेका भनिनेहरुले यो बेला घर निर्माणको काम धमाधम गरेको पनि भेटिएको छ । निर्माण सम्बन्धि काम रोक्न कपिलवस्तु उद्योग वाणिज्य संघले सोमबार नै विज्ञप्ति निकालेर आग्रह गरेको थियो । यति मात्र होइन सोमबार साँझ त सरकारले देशभर ‘लकडाउन’को घोषणा नै गर्यो । तर, ‘कागलाई बेल पाक्यो, हर्ष न विष्मात !’ भने झै उनीहरुले यो निर्णय मान्नुपर्ने कारण नै देखेनन । विहानै देखि घर निर्माणका काम धमाधम गरिरहेका छन ।
समाजमा सचेत भनिएका बर्ग, समाजमा पछाडि रहेका समुदाय सबैले कोरोना भाइरसको संक्रमण आफ्नो शरीरमा पनि लाग्न सक्छ भन्ने हेक्का नराख्दा यो गतिविधि देखिएको हो । यो त सरकारलाई लाग्ने रोग हो भन्ने बुझाई कतिपय नागरिकमा देखिदा सुरक्षाकर्मीलाई सम्झाउँनै हैरान भएको छ । विहान देखि हजार व्यक्तिलाई सम्झाउँदा सम्झाउँदै आफुलाई ज्वरो आउन लागेको एक जना महिला सुरक्षाकर्मीले मायादेवी अनलाइनसंग गुनासो पोखिन । अब दिनभरी यही काम गर्ने हो भने साँझ आईसियुमा भर्ना हुने स्थित नआउँला भन्न सकिन्न, उनले भनिन ।
जिल्लामा अत्यावश्यकिय पसल बाहेक अरु पसल भने पूर्णतया बन्द भएका छन । व्यापारीले यो कोरोना भाइरस विरुद्धको सचेतना अभियानलाई पूर्ण रुपमा साथ दिएका छन ।
कतिपय नागरिकले घरमा बस्न पट्यार लागेर बजारको चोकतिर निस्किएको पनि बताउँन भ्याए । कतिपयले त चोकमा के छ भनेर बजार निस्किएको सुनाए । एक जना व्यक्ति त एउटा मूला किन्न २० मिटरको बाटोमा मोटरसाइकल चलाएर पसल आए !
कोरोना भाइरसबारे सरकारले रातदिन सचेतना जगाउने काम गरेपनि अझै कतिपय नागरिकस्तरमा यसको सचेतना जरुरी रहेको देखिएको छ । विश्वभर महामारीको रुप लिएको र नेपालमा पनि छिरिसकेको कोरोना भाइरसको रोकथाममा मजाक नगरी आफ्नो र परिवारसंगै छरछिमेको स्वास्थ्यप्रति सबै संवेदनशिल बन्न आवश्यक छ ।
प्रतिक्रिया