९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मिडियाको सवारी चल्न यस्तो फाराम भर्नु पर्ने वा प्रशासनबाट अनुमति लिनुपर्ने



काठमाडौँ । सरकारले सञ्चार संस्था र पत्रकारका लागि सूचना विभागबाट जारी भएका प्रेस पास वा जिल्ला प्रशासन कार्यालयको अनुमति भए सवारी साधन गुडाउन दिने भएको छ ।कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर चैत ११ गते देखि १८ गत सम्म देशभर लकडाउन गरेको छ। लकडाउनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवा तथा अनुमति पत्रवाहक मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरेको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले सूचना विभागबाट जारी भएका र प्रशासनबाट अनुमतिपत्र लिएका सञ्चार माध्यमका सवारी साधनलाई कुनै रोकतोक नहुने बताए। सोमबार साँझ सरकारले ११ गतेदेखि लागू हुने गरी देशभर लकडाउन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले पास वितरण गर्न काठमाडौंसहित देशभरका प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।
’समाचार संकलनमा असहज नहोस् भनेर राति अबेरसम्म बसेर हामीले मिडिया हाउस र कार्यरत पत्रकारका लागि तोकिएअनुसार पास वितरण गरिरहेका छौं,’ आचार्यले भने, ’ सूचना विभागबाट जारी पासलाई पनि सवारी गुडाउन अनुमति दिइएको छ।’
एउटा प्रशासन कार्यालयले जारी गरेको पास अर्को प्रशासन मातहत जिल्लासम्म पनि प्रयोग गर्न सकिने छ। लकडाउन नागरिककै स्वास्थ्य सुरक्षाका लागि भएको भन्दै प्रशासनको आदेश उल्लंघन गरेर बाहिर ननिस्कन उनले आग्रह गरे। त्यस्तै अत्यावश्यक काम परेमा सर्वसाधारणलाई पनि अनुमति दिइने सहायक प्रजिअ आचार्यले जानकारी दिए।

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ६ : ०४ बजे