मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले क्वारेनटाइन कक्ष र आइसोलेसन वार्ड बनाउने स्थान तोकेको छ । कोरोना भाइरसले विश्वमा महामारी रुप लिइरहेको अवस्थामा नगरपालिकाको सोमबार बसेको वैठकले गजेहडाको बाणगंगा माविको श्रोत केन्द्रमा क्वारेनटाइन र पिपरा अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई निर्णय सुनाउँदै विद्यालयको श्रोत केन्द्रमा ४ वेडको आइसोलेसन कक्ष र पिपरा अस्पतालमा २ बेडको क्वारेनटाइन बनाउने निर्णय भएको जानकारी दिनु भयो ।
हिजोसम्म नेपाल कोरोनाबाट सुरक्षित रहे पनि आजबाट असुरक्षित रहेकाले सबै सतर्क रहन जरुरी रहेको प्रवक्ता पौडेलले बताउनु भयो । यसको लागि आवश्यक पर्ने श्रोत साधन एक दुई दिन भित्र तयार पारिसक्ने पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्र यदि कसैलाई कोरोनाको लक्षण देखिएमा अथवा शंका लागेमा तत् स्थानमा गई उपचार गर्न एवम परामर्श लिन सक्ने जनाइएको छ । परिस्थितिलाई हेरेर आवश्यकता अनुसार थप आइसोलेसन कक्ष र क्वारेनटाइन बनाउने बारे नगर तयारी अवस्थामा रहेको पनि पौडेलले जानकारी दिनुभयो ।
यसअघि पनि कोरोनाको सम्भावित जोखिमबाट बच्नको लागि नगरका हाट बजार बन्द गर्ने नगरपालिकाले निर्णय गरिसकेको छ । नगरले आवश्यकता भन्दा बाहेकका काममा बाहिर नजान, भिँडभाड नगर्न, मानिसको समपर्कबाट टाढा रहन पनि अनुरोध गरेको छ ।
१० चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया