१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

प्युठान ‘लक डाउन’



प्यूठान ।
कोरोना भाइरसको संक्रमणबाट बच्न प्युठानमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।
अत्यावश्यकबाहेकका सबै व्यापारिक केन्द्र बन्द भएका छन् । प्युठान उद्योग वाणिज्य संघले १७ चैतसम्म बजार क्षेत्र बन्द गर्ने भएपछि बजारहरू बन्द छन् ।
अन्तर जिल्ला छुट्ने सवारीकासाधनहरू बन्द छन् । जिल्लाभित्रका छोटा दूरीका सवारी फाट्टफुट्ट मात्र सञ्चालनमा छन् । स्थानीय प्रशासन तथा स्थानीय सरकारहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आह्वान गरेसँगै मानिसहरूको आवतजावत पनि ज्यादै न्यून छ ।

जिल्लाबाहिरबाट र अन्य मुलुकबाट आएकाहरूलाई घरमै सुरक्षितसँग बस्न अपिल गरिएको छ । कोरोना संक्रमणबाट सचेत रहन स्थानीय सरकार, सरकारी कार्यालयका कर्मचारी, वडा स्तरसम्मका जनप्रतिनिधि, कर्मचारी, गैससमा कार्यरत कर्मचारीहरूलगायत सचेतनामूलक कार्यक्रम गर्न थालेका छन् ।
रोल्पा र प्युठान भित्रिने सरुमारनी गाउँपालिकाको दरभानमा जिल्लास्तरीय डेल्प डेक्स स्थापना गरिएको छ । त्यहाँ यात्रुहरूको सामान्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । विपद् प्रतिकार्यका लागि स्थानीय तहहरूले कोष स्थापना गरेका छन् । प्युठान नगरपालिकाले १० लाखको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  ३ : ५६ बजे