९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतका २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’



काठमाण्डौ ।
भारतका २२ वटा राज्यका ७५ वटा जिल्लामा लकडाउन गरिएको छ । जनता कर्फ्यू सकिएलगत्तै आजदेखि राजधानी दिल्लीसहित २२ वटा राज्यका ७५ जिल्लामा मार्च महिनाभरीका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।
राजधानी दिल्लीमा आज बिहान ६ बजेदेखि लकडाउन लागू गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन् ।
लकडाउनको बेला निजी प्रतिष्ठान, निजी कार्यालय तथा सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुनेछन् । यो बेला मानिसहरु घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् ।
यसअघि आइतबार भारतभरी बिहानदेखि बेलुकासम्म जनता कर्फ्यू लागू गरिएको थियो । भारतमा अहिलेसम्म चार सय २५ जनामा संक्रमण भएकोमा आठ जनाको ज्यान गएको छ भने २४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  १ : ४६ बजे