काठमाडौं ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराइसकेका छन् ।
प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते (आज)देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’
लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्को जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ ।
आज बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेका छन् । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन् ।
कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृहजिल्ला फर्किएकाले यात्रुसमेत घटेको छ । बजारमा चहलपहल कम भएको छ ।
सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित देखिन्छ । सम्भवतः कोरोना महामारीको अवस्था हेरेर बन्द खुलाउने सरकारको तयारी हुन सक्छ ।
तर यो महामारी कहिले साम्य हुन्छ भन्न सकिने स्थिति नरहेकाले यातायात कहिले खुल्छ अहिल्यै भन्न गाह्रो छ ।
अन्तर्राष्ट्रिय उडान त हिजै (आइतबार) देखि बन्द गरिएको छ । तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुनेछ सरकारले जनाएको छ ।
प्रतिक्रिया