काठमाडौं ।
संसदीय समितिले सीमानाकामा आवतजावत गर्नेहरूको स्वास्थ्य परीक्षणमा कडाइ गर्नुका साथै विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले विदेशीलाई प्रवेशमा रोक लगाउँदै नेपाली नागरिक प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
यसैगरी दैनिक उपभोग्य वस्तु, औषधि र अन्य स्वास्थ्य उपकरणहरूको समुचित प्रबन्ध गर्दै सहज प्राप्तिको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । अस्पतालहरूमा यथोचित उपचारको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति नीरादेवी जैरुले बताइन् ।
समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पूर्व तयारीको मोडल परिवर्तन गर्ने तयारी भइरहेको बताए । चिनियाँको सुझाव र सल्लाह लिएर उनीहरूकै मोडलमा पूर्वतयारीका काम अगाडि बढ्ने उनले बताए । स्वास्थ्य उपकरण जुनदेशले सहयोग गरे पनि लिने नीति सरकारले लिएको उल्लेख गर्दै उनले नेपाली चिकित्सकलाई प्रशिक्षण दिन चीनको विशेष टोली बोलाउने तयारी भएको पनि बताए ।
सांसद भीम रावलले कुन देशको सहयोग लिने कुन देशको नलिने भन्ने परिपाटीको अन्त्य गर्दै जहाँबाट जे पाइन्छ त्यो लिएर तत्काल वितरण गर्नुपर्ने बताए । सांसद पम्फा भुसालले विद्युतीय महसुल कम गरी ग्यासको संकट कम गर्न सकिने सल्लाह दिइन् । सांसद गणेश गठुन्नाले २ महिनासम्म स्वास्थ्य उपकरण जोहो गर्न किन सकिएन भन्दै प्रश्न गरिन् ।
विश्वव्यापी महामारीको रूप लिएको कारोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तीव्र रूपमा गरिरहेको जनाएको छ । कोरोनाको संक्रमण नेपालमा आउन नदिन र भित्रिएको खण्डमा नियन्त्रणका लागि खेल्नुपर्ने भूमिकाका विषयमा सरकारले पूर्वतयारीका योजनाहरू अगाडि सारेको छ ।
प्रतिक्रिया