मायादेवी अनलाइन, भलवाड ।
विश्वभर फैलिएको कोरोना भाइरसबारे सचेतना जगाउन स्थानीय तहले विभिन्न प्रयास थालेका छन । यस्तै वडास्तरमा पनि यसको सचेतनाका लागि प्रयास थालिएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ ले वडाध्यक्ष ध्रुव बेल्वासेको संयोजकत्वमा ३१ सदस्यिय विपद व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरुमा निर्वाचित वडाका जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, संघ संस्थाका प्रमुखहरु, टोल विकास संस्थाका अध्यक्षहरु, युवा क्लब, बालसंजालका प्रतिनिधिहरु रहेका छन भने सदस्य सचिवमा वडा सचिव सन्तोष कुमार बैठा रहेका छन् ।
समितिले कोरोना फैलन नदिनका लागि विभिन्न सचेतना कार्यक्रम गर्नेछ भने शंकास्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था मिलाउने संयोजक बेल्वासेले बताए ।
वडामा बाहिरी मुलुकबाट आउने जो कोही व्यक्तिलाई कम्तिमा १४ दिनसम्म निगरानीमा बस्नु पर्ने, कोरोनाको लक्षण देखिएमा नगरले तोकेको अस्पतालको आइसुलेसन वार्डमा उपचारको लागि भर्ना हुनु पर्ने लगायतका विषय कडाईका साथ लागु गर्ने उनले बताए । साथै उनले वडाबासीहरुमा अत्यावश्यक काम बाहेक अन्यत्र भिडभाडमा नजान पनि अनुरोध गरेका छन् ।
समिति गठन पूर्व भएको कार्यक्रममा भलवाड स्वास्थ्य चौकीका प्रमुख जित बहादुर रायमाझीले कोभिड १९ कसरी सर्छ, त्यसका लक्षणहरु के के हुन, यसबाट कसरी बच्न सकिन्छ, सावधानी उपाय के के छन भन्ने बारे प्रकाश पारेका थिए ।
९ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया