९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाल्पामा मृगौलाको डायलासिस सेवा सञ्चालन



पाल्पा ।
पाल्पाको तानसेनमा मृगौलाको डायलाइसिस सेवा संचालनमा आएको छ । तानसेन नगरपालिकास्थित बन्दीपोखरामा १० वटा अत्याधुनिक मेशिनबाट मृगौलाको डायलाइसिस सेवा शुरु गरिएको हो ।

पाल्पा जिल्लासंगै गुल्मी, पुर्वी अर्घाखांची र स्याङजाको पश्चिम क्षेत्रका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी पाल्पामा मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो ।

पाल्पामा मृगौलासम्बन्धी उपचार नहुंदा बुटवल, भैरहवा, पोखरा र काठमाण्डौं जानुपर्ने बाध्यता थियो । उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

तानसेन नगरपालिका वडा नंं ५ बन्दीपोखराको लक्ष्मी माध्यमिक विद्यालयको प्रयोग नभएको भवनमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाको डायलाइसिस सेवा शुरु गरेको हो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले मृगौला डायलाईसिस सेन्टरबाट १ जना मेडिकल अफिसर र १५ जना स्वास्थ्यकर्मीले २४ सै घण्टा सेवा प्रदान गर्ने बताए ।

उनले हाल १० वटा मेशिनबाट डायलाईसिस शुरु गरिएपनि आवश्यकताको आधारमा मेशिन थप गर्न सकिने जानकारी दिए ।

मृगौला डायलाइसिसको लागि प्रयाप्त शुद्ध र निर्मलीकरण गरिएको पानिको आवश्यकता पर्ने भएपनि नभएकोले पानीको व्यवस्था गर्न उनले तानसेन नगरपालिकासंग आग्रह गरेका छन् ।

करिब ५ करोडको लागतमा संचालनमा आएको उक्त सेन्टरबाट दैनिक ३० जना विरामीको नियमित डायलाइसिस गर्न सकिने पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले जानकारी दिए ।

पाल्पा, गुल्मी र पुर्वी अर्घाखांचीबाट ६४ जना विरामी नियमित रुपमा मृगौलाको डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा जाने गरेका थिए ।

केही विरामीले पोखरा, काठमाडौं तथा रुपन्देहीका अन्य अस्पतालमा समेत नियमित डायलाईसिस गराउंदै आएका छन् । जिल्लाभित्रै डायलाइसिस सेवा संचालन भएपछि समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुशी भएका छन् ।

पाँच वर्षदेखि मुटुको उपचार संगै मृगौलाको डायलाइसिस सेवा संचालन गर्दै आएको त्यस अस्पतालमा २० वटा मेसिनबाट मृगौलाका बिरामीहरुको डायलाईसिस हुंदै आएको छ ।

त्यो बाहेक गत महिना दाङको लमहीमा १० वटा मेसिन जडान गरी सेवा शुरु गरिएको छ ।

केही दिनभित्रै स्याङ्जाको वालिङमा पनि १० वटा मेशिन जडान गरी डायलाईसिस सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।

सरकारले मृगौला रोगीहरुको निःशूल्क उपचार घोषणा गरेपनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट समयमा डायलाइसिस सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६ आइतबार ००:००  ९ : २२ बजे