९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना त्रासः शनिबार मात्रै २ लाख सर्वसाधारणले काठमाडौं छोडे



काठमाडौं ।
काठमाडौंबाट बाहिरिने यात्रु सामान्य अवस्थाको तुलनामा ४ गुणासम्म वृद्धि भएका छन् । सरकारले अत्यावश्‍यक बाहेकका कार्यालयहरूलाई बिदा दिएसँगै यस्तो भएको हो ।

विश्‍वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चालेको कदम र सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने निर्णयसँगै काठमाडौं बाहिर जाने यात्रुको घुइँचो देखिएको हो ।

शनिबार मात्रै काठमाडौंबाट करिब २ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालका अनुसार बेलुका ७ बजेसम्म १ लाख ८६ हजार ५ सय ४९ जना यात्रु विभिन्न नाकाबाट बाहिरिएका हुन् । अहिले पनि बसपार्कमा उपत्यका बाहिरिने यात्रुको भीड लागेको छ ।

सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधनलाई रोक लगाएको छ भने अत्यावश्‍यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्र तथा भारतसँगको सीमा नाकामा यात्रुको सख्या घटेको अवस्थामा यातायात व्यवसायीले प्रमुख शहरबाट यात्रु लैजाने काम गरेका छन् । यातायात व्यवस्था विभागले यो समयमा सबै क्षेत्रमा सवारी रुट खुला छोडेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ९ : १६ बजे