९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्वास्थ्यकर्मी भन्छनः सरकारले नांगो तारमा छुन लगायो



बाँके ।
नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना भाइरस निगरानी र परामर्शका लागि सञ्चालनमा रहेका हेल्थ डेस्कमा आवश्यक सामग्री उपलब्ध नगराए नजाले बताएका छन् । उनीहरूले आवश्यक सामग्रीबिना फिल्डमा खटिँदा जोखिम हुने भन्दै तत्काल त्यस्ता सामग्री उपलब्ध गराउन माग गरेका छन् । ‘सरकारले हामीलाई विद्युत्को नांगो तारमा हातले छुन लगाइरहेको छ,’ स्वास्थ्यकर्मीले संयुक्त रुपमा भनेका छन् ।

भेरी अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन राजन पाण्डेको पूर्ण समर्थनमा स्वास्थ्यकर्मीले आवश्यक सामग्री तत्काल उपलब्ध गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई चारबुँदे ज्ञापनपत्र बुझाएका छन् । हेल्थ डेस्कमा पालैपालो स्वास्थ्यकर्मी खटाउनुपर्ने, कोरोनाको महामारीमा परिचालन हुने स्वास्थ्यकर्मीको सुरक्षा, बीमा, हेल्थ डेस्कमा आवश्यक उपकरण थर्मोमिटर, प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई सेट), सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्नुपर्ने, अस्पताल, हेल्थ पोस्टमा आवश्यक सामान उपलब्ध गराउनुपर्नेलगायत माग स्वास्थ्यकर्मीले गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले नेपाल–भारतको जमुनहा नाका, नेपालगन्ज विमानस्थल, नेपालगन्ज उपमहानगरपालिका कार्यालय र भाटभटेनी सुपरमार्केटमा कोरोना भाइरस निगरानी तथा परामर्शका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। हालसम्म जमुनहा नाकामा ३० हजार, विमानस्थलमा १२ हजार र नेपालगन्ज उपमहानगरमा चार हजार जनाको स्वास्थ्य परीक्षण गरिसकेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : ५६ बजे