एजेन्सी ।
इङ्लिस फुटबल क्लब कार्डिफ सिटीका पूर्वखेलाडी पिटर विटिङ्घमको बिहीबार राति निधन भएको छ । मार्च ७ तारिखमा वेल्सस्थित एक बारमा दुर्घटनामा परी ३५ वर्षीय विटिङ्घम गम्भीर रूपमा घाइते भएका थिए । दुर्घटनामा परी उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारका लागि वेल्सकै युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार राति उनको निधन भएको छ । इङ्ल्यान्डको यू-२१ राष्ट्रिय टोलीका सदस्यसमेत रहेका विटिङ्घम केही समयमै दोस्रो सन्तानको पिता बन्दै थिए ।
साउथ वेल्सको प्रहरीले विटिङ्घमको दुर्घटनाको विषयमा अनुसन्धान पनि गरिरहेको छ । दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा शंका गर्नुपर्ने कुनै तथ्य फेला नपरेको प्रहरीले जनाएको छ । विटिङ्घमले सन् २००३ मा इङ्लिस क्लब एस्टन भिल्लाबाट खेलजीवन सुरु गरेका थिए । यसबीचमा उनले बर्नली र डर्बी काउन्टीबाट पनि लोनमा व्यावसायिक फुटबल खेलेका थिए ।
त्यसपछि उनी सन् २००७ देखि सन् २०१७ सम्म कार्डिफ सिटीमा आबद्ध भएका थिए । पछिल्लो पटक उनले सन् २०१७ देखि सन् २०१८ सम्म ब्ल्याकबर्न रोभर्सबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले कार्डिफ सिटीका लागि चार सय ५९ खेल खेल्दै ९८ गोल गरेका थिए । विटिङ्घमले व्यावसायिक फुटबल खेलेका क्लबहरूले उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । विटिङ्घमका सहकर्मी फुटबल र शुभेच्छुकहरूले पनि उनको असामयिक निधनबाट आफूहरू स्तब्ध बनेको प्रतिक्रिया दिँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसैगरी म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरले पनि विटिङ्घमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । विटिङ्घमले कार्डिफबाट व्यावसायिक फुटबल खेल्दा सोल्सकर उक्त क्लबका प्रशिक्षक थिए ।
प्रतिक्रिया