मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले विश्वमा महामारीको रुपमा फैलिरहेको नाभेल कोरोना भाइरसबाट बच्न आमनागरिकलाई सावधानी भई सचेत रहन आग्रह गरेको छ ।
पार्टीको जिल्ला कार्यालयमा आयोजित बैठकबाट कोरोना भाइरसबाट बच्नको लागि नागरिकलाई सावधानीसहितको सुरक्षा र शिक्षा दिन कार्यकर्तालाई खटाउने निर्णय गरिएको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।
साबुनपानीले हात धुन, भीडभाडमा नजान, अत्यावश्यक परेको बेला मात्र घरबाट बाहिर निस्कन समेत कांग्रेस कपिलवस्तुले अपिल गरेको छ । त्यसको लागि पार्टी नेता कार्यकर्ता, तरुण विद्यार्थीहरुलाई जो जहाँ छ त्यहीबाट परिचालन गर्ने निर्णय गरेको छ ।
साथै विपदको समयमा हुने कालोबजारी, तस्करी लगायतका अमानवीय कारोवारमा संलग्न जो कोहीलाई कारवाहीको दायरमा ल्याउनको लागि स्थानीय प्रशासनलाई सघाउने पार्टीले जनाएको छ । कृत्रिम रुपमा बजारमा अभाव सिर्जना गर्ने पक्षहरुलाई तत्काल अनुगमनको आधारमा कारवाही गर्न सहयोग गर्ने समेत पार्टीले जनाएको छ ।
विश्वमा नै समस्या परेको यो अवधीमा धैर्य धारणका साथ सावधानी अपनाउनुका साथै सरकारलाई उपचार तथा सरसफाई जन्य सामग्री उपलब्ध गराउन समेत कांग्रेसले आग्रह गरेको छ । विदेशमा रहेका आम नेपालीहरुमा समेत सचेत र स्वास्थ्यमा विशेष ध्यान दिनको लागि आग्रह गरिएको छ ।
पार्टीको क्रियाशिल सदस्यता नविकरण, वितरणजस्ता नियमित कामहरु अब गाउँ तथा नगर इकाई र वडा समितिले गर्ने छ । पार्टीका समारोह र सभाहरु हाललाई स्थगित समेत गरिएको बैठक पछि पार्टी सभापति आचार्यले संचारकर्मीहरुलाई बताए ।
८ चैत्र २०७६ शनिबार ००:००
2
Shares
प्रतिक्रिया