९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना भाइसको रोकथाम र सचेतनामा कृष्णनगरका मुस्लिम अगुवा एकजुट



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्रका मुस्लिम धर्मका अगुवाहरुले नोबेल कोरोना भाइरसबारे रोकथाम र सचेतना अपनाउन सबैमा आग्रह गरेका छन ।
नगरको वडा नं. २ मा रहेको राष्ट्रिय मदरसा संघको लाइब्रेरीमा आयोजित एक कार्यक्रमबाट कोरोना भाइरस माथि सावधानी अपनाउन आग्रह गरिएको हो । कार्यक्रममा मुस्लिम धर्म गुरु र अगुवाहरुले कोरोना भाइरसबारे सचेतनामूलक सन्देश दिएका थिए ।
नेकपाका केन्द्रिय सदस्य सिराज अहमद फारुकीले सबै मुस्लिम समुदायलाई भीडभाड भएको ठाउँमा नजान आग्रह गर्दै सबै मिलेर सरकारले गरेका हरेक निर्णयको कार्यान्वयन गर्न आग्रह गर्नुभयो । यो भाइरसबारे सबैले सावधानी अपनाउन जोड दिदै जसले नियमपालन गर्दैन उसलाई कारबाही हुने चेतावनी दिनुभयो ।
राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले हरेक धर्मका धर्म गुरुले विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई रोक्न समाजमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
विकसित राष्ट्रहरुले पनि यो भाइरसको नियन्त्रण गर्न नसकेको अवस्थामा नेपालमा प्रवेश गरे रोक्न साह्रै गाह्रो हुने देखिएकाले सबै सचेत बन्नुपर्ने बताउनुभयो । भारतमा समेत यो भाइरसले महामारी रुप लिएकोले नेपालमा सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो ।
मदरसा बोर्ड प्रदेश नं. ५ का उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायका रहेक व्यक्तिले कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले नेपाल सरकारको अभियानमा मुस्लिम समुदायका अगुवाहरुले साथ दिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले राष्ट्रिय मदरसा संघले धर्म गुरुहरूलाई सचेतना फैलाएर प्रशंसनीय काम गरेको बताउनुभयो ।
कार्यक्रममा (नेकपा) कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खान, मौलाना अब्दुल रसिद मदनी, शैख अब्दुल मन्नान सल्नी, मौलाना अब्दुल अजिम मदनी, मौलाना अकिल अहमद नइनी, दिनेश गुप्ता, अब्दुल अजिज लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ४ : १६ बजे