९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शीतगंगामा असिना आतङ्कः १५ करोड बढीको क्षति



अराज बेल्बासे, शीतगंगा ।
झण्डै एक साता अगाडी चैत १ गते आएको असिना पानीले शीतगंगा नगरपालिकामा १५ करोड बढीको क्षति पुगेको छ । क्षति पुगेका वडाहरुमा संकलन गरिएको विवरण अनुसार कृषि उपज बालीनाली, खेतिपाती र भौतिक निर्माण गरी १५ करोड बढीको क्षति भएको छ ।
असिना पानीले सबै भन्दा बढी वडा नम्बर ३ र ४ मा क्षति गरेको छ भने अन्य वडामा सामान्य क्षति गरेको बिवरण सार्वजनिक भएको छ ।
सार्वजनिक भएको विवरण अनुसार वडा नम्बर ३ का ४ सय ४८ घरधुरीमा बाली नोक्सान भएको छ भने छुटेकाहरुको बिवरण संकलनको काम भैरहेको नगरपालिकाले जनाएको छ ।
वडा नम्बर ४ मा सय ५ सय ३६ घरधुरीको वालीनाली नष्ट भएको बिवरणमा उल्लेख छ । वडा नम्बर ५ मा २ सय ९८ घरधुरीको बाली नष्ट भएको छ भने वडा नम्बर १२ मा २ सय घरधुरीमा क्षति पुगेको छ ।
वडा नम्बर १३ मा ३३ घरधुरीको बालीमा क्षति पुगेको बिवरणमा उल्लेख रहेको छ ।
नगरभित्र भएको भौतिक क्षतिको बिवरण प्रहरीले अनुगमन गरिसके पछि मात्र जानकारी हुने नगरले जनाएको छ । भौतिक क्षतिको बिवरण संकलनको काम जारी रहेको जनाइएको छ ।
शुक्रबार नगरपालिकामा बसेको विपत ब्यवस्थापन समितिको बैठकमा बिभिन्न वडाहरुबाट संकलन भएका क्षति बिवरण अनुसार १५ करोड बराबरको क्षति भएको जानकारी गराइएको छ । असिना सहित परेको पानीले शीतगंगा नगरपालिकाका मुख्य सडकहरुमा समेत क्षति पु¥याएको छ ।
नगरपालिकाले संकलन गरेको क्षति बिवरण जिल्ला विपत ब्यवस्थापन समितिको बैठकमा पेस गरे पछि प्रदेश सरकार तथा संघीय सरकारसंग क्षतिको माग गरिने शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
शुक्रबार बसेको नगरपालिकाको विपत ब्यवस्थापन समितिको बैठकले माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामको लागि सर्तकता अपनाउने निर्णय समेत गरेको छ ।
शीतगंगामा प्रवेश गर्ने मुख्य नाकाहरुमा हेल्थ डेक्सको स्थापना गरिने भएको छ । नगरपालिकामा आउने बिरामीमा कोरोनाको लक्षण देखिएमा निगरानी गर्ने र शंका लागे सम्बन्धित स्थानमा पुर्याउने एम्बुलेन्स तयारी अवस्थामा राखिने नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ४ : ०० बजे