बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची शीतगंगा ४ ठाडा रातामाटा निवासी २२ वर्षीय अम्मर नेपालीको दुवै मृगौला फेल भएपछि उपचारमा समस्या भईरहेको बेला शितगंगाबाट दुबई पुगेका युवाहरूले आफ्नो गाँस कटाएर आर्थिक सहयोग गरेका छन् । रोजगारीका लागि दुबई पुगेका शितगंगा नगरपालिका भित्रका दर्जनौ युवाहरूले अम्मर बचाऔँ अभियान सुरू गरेर संकलन गरि पठाएको रकम सामाजिक अभियान्ता एवं संचारकर्मी बिष्णु कुमार आलेले एक कार्यक्रमका बिच १० हजार परिवारलाई हस्तान्तरण गरेका हुन् । यसैबीच शीतगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारीले पनि अम्मरको उपचारमा रू १० हजार १ सय आर्थिक सहयोग गरेका छन् ।
टिचिङ अस्पताल महाराजगंज काठमाडौंमा उपचार गरिरहेका अम्मरको आर्थिक अवस्था कमजोर भएकाले आफ्नै आमाले दिएको मृगौला प्रत्यारोपण गर्न थप आर्थिक समस्या भएको हो ।
४९ वर्षीय बुवा वीरेन्द्र नेपाली र ४३ वर्षीया आमा देवका नेपालीको माइला छोरा अम्मरले डिप्लोमा इन्जिनियरिङ शिक्षा हासिल गरेर नवलपरासीमा चार महिनाअघि जागिर सुरु गरेका थिए। रोजगारीकै शिलशिलामा उनलाई आँखामा समस्या देखिएपछि अस्पताल परीक्षण गर्न पुग्दा चिकित्सकले मिर्गौला फेल भएर एक्कासी प्रेसर बढ्दा आँखा देख्न समस्या भएको बताएपछि उनी झसङ्ग भए ।
चिकित्सकले दुवै मृगौला प्रत्यारोपण गरेपछि ठीक हुने सल्लाह दिएपछि अहिले उनले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पीडालाई झन् बल्झाइरहेको छ ।
उनका बुवा वीरेन्द्रका अनुसार दुवै मिर्गौला प्रत्यारोपण गर्न ३० देखि ३५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् । यति ठूलो रकम कहाँबाट र कसरी ल्याउने भन्नेमा आफू पिरलिएको उनले बताए। उनले छोराको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । आमा देवका नेपालीले भन्छिन्, ‘मिल्यो भने म आफ्नो मिर्गौला दिएर भए पनि छोरालाई बचाउँछु ।’ उनले पनि छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।
सहयोग मन भएकाले अम्मर नेपालीको नाममा रहेको एनएमबी बैंकको खाता नं. ०३५०११७६६८९०००१७ र कुमारी बैंकको खाता नं. ०१६००४३५६५२००००१ मा रकम जम्मा गर्न सक्ने छन् । यस्तै, अम्मर नेपालीको फोन नं. ९८६९९४६५०१, बुवा वीरेन्द्र नेपालीको फोन नं. ९८०७४१०४०० मा टेलिफोन गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिए । परिवारले विभिन्न राजनीतिक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
७ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया