मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना त्रासको कारण बजारमा अत्यावश्यक बस्तुको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भएको छ । पछिल्लो समय कोरोनाको विश्वव्यापी असर भइरहदा नेपाल समेत उच्च जोखिममा रहेको खबरले बजारमा हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु, ईलाका प्रशासन कार्यालय, कपिलवस्तु उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मंच र संचारकर्मीको टोलीले वाणगंगा नगरपालिकाको बजार क्षेत्रमा अनुगमन निरीक्षण गरेको हो । अनुगमन टोलीले उपभोक्तालाई अत्यावश्यक पर्ने औषधी र खाद्यान्नका १ दर्जन बढि पसलमा निरिक्षण गरेको बताइएको छ ।
बजारमा खाद्यान्न लगाएतको अत्यावश्यक बस्तुको कृत्रिम अभाव सिर्जना भएको सुनिएपनि अनुगमनमा त्यस्तो नभेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन केसीले जानकारी दिनुभयो । उहाँले कोरोनाको त्रासले उपभोक्ताले आवश्यकता भन्दा बढि उपभोग्य वस्तुको खरिद गर्दा अभाव सिर्जना हुने भन्दै व्यवसायीलाई त्यसतर्फ सचेत गराइएको जानकारी दिनुभयो । व्यापारीले २० प्रतिशत भन्दा बढि मुनाफा गरेर विक्री वितरण गर्न नपाइने कानुनी व्यवस्थालाई मध्यनजर गर्नुपर्ने समेत बताइएको थियो । मेडिकलमा माक्स र सेनिटाइजर जस्ता वस्तुको प्रचलित बजार मूल्य र सहज विक्री वितरणमा व्यवस्था मिलाउन समेत अनुगमन टोलीले निर्देशन दिएको थियो । पसलहरुमा मूल्य सूची, साइनबोर्ड नराखेको र फार्मेसीमा श्रृंगार समान समेत भेटिएकाले तत्काल हटाउन सचेत गराइएको थियो । अनुगमनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले व्यवसायीलाई नियम कानुनमा रही व्यवसाय संचालन गरे कुनै समस्या नआउने बताउदै कतै कमीकमजोरी रहे आगामी दिनमा सच्चाएर जाने समेत बताउनुभयो । त्यस्तै उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले कुनै पनि बहानामा कालोबजारी र उपभोक्तालाई ठगी गर्न नपाइने बताउनुभयो । वाणगंगाका नगर क्षेत्रका थापा मेडिकल, युनाईटेड नेशनल अस्पताल, पाल्पाली उत्कृष्ट मेडिकल, ज्ञवाली मेडिकल हल, जनभावना मेडिकल, दिगो फार्मेसी, हाम्रो फार्मेसी, खाद्यान्य लगाएतका पसल रहेका थिए ।
७ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया