मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ । विहीबार विहान ८ बजेदेखि देशैभर सञ्चालन हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय कपिलवस्तुले जनाएको छ ।
परीक्षामा कपिलवस्तुबाट ७ हजार ४ सय ७२ विद्यार्थी सहभागी हुँदै छन । जिल्लाका ७७ सामुदायिक विद्यालय, ४८ संस्थागत विद्यालय र एउटा खुल्ला विद्यालय गरी कुल १ सय २६ विद्यालयका विद्यार्थीहरुले नियमित, ग्रेड वृद्धि, प्राविधिक र खुला तर्फ परीक्षा दिन लागेको शिक्षा इकाई कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस वर्ष जिल्लामा नियमित तर्फ ६ हजार ८ सय ३९ जना विद्यार्थी छन् । यस्तै ग्रेड वृद्धि (एक्जाम्टेड) तर्फ ४ सय ४२ जना र प्राविधिक तर्फ १ सय ९१ जना विद्यार्थी रहेको इकाई कार्यालयका परीक्षा शाखा प्रमुख अर्जुन कुँवरले जानकारी दिनुभयो ।
यो बर्ष महाराजगञ्जको जानकी मावि केन्द्रमा सवै भन्दा वढि ३ सय ५२ जना विद्यार्थीले परीक्षा दिदै छन भने सबै भन्दा कम खरेन्द्रपुरको समयथान माविमा १ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागीता हुनेछन ।
जिल्लामा परीक्षाका लागि २९ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहमा मात्र केन्द्र निर्धारण गरिएको इकाई कार्यालयले जनाएको छ शुद्धोधन र मायादेवी गाउँपालिकामा यो बर्षपनि केन्द्र नभएको कार्यालयको भनाई छ ।
परीक्षा केन्द्र सबैभन्दा बढी वाणगंगा नगरपालिकामा ८ स्थानमा कायम गरिएको छ । कपिलवस्तु नगरपालिकामा ७, वुद्धभूमि नगरपालिकामा ५, शिवराज नगरपालिकामा ४, कृष्णनगर नगरपालिकामा २, महाराजगंज नगरपालिका, विजयनगर र मायादेवी गाँउपालिकामा १–१ गरी कुल २९ वटा केन्द्र कायम गरिएको छ । परीक्षालाई व्यवस्थित र अनुशासित बनाउनका लागि परीक्षा समन्वय समितिले आचार संहिता जारी गरिसकेको छ ।
५ चैत्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया