९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना भाइरसका संक्रमितका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा आइसोलेसन कक्ष तयार



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरस अर्थात् कोभिड १९ ले विश्वब्यापी रुपमा महामारीको रुप लिइरहेको अवस्थामा बाणगंगा ४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालले पनि सतर्कता अपनाउन सुरु गरेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना फैलिरहेको अवस्थामा खुला सिमाना भएको कपिलवस्तुमा पनि यसले असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन सुरु गरिएको अस्पतालले जनाएको छ ।
के कस्तो सतर्कता अपनाएर कोरिनाको संक्रमणबाट बच्न सकिन्छ भन्ने विषयमा अस्पतालले यस क्षेत्रका प्रमुखहरुसंग छलफल पनि गरेको छ । छलफलको क्रममा सरोकारवालाले एकजुट भएर यसबारे सचेतना जगाउन आवश्यक भएको बताएका छन् । नेपालमा कोरोनाको आएको छैन भनेर ढुक्क हुनुपर्ने अवस्था नरहेको भन्दै समयमै सचेतता अपनाउनु पर्ने सरोकारवालाले बताएका हुन् ।
कोरोनाको विषयमा विशेष प्रस्तुती दिँदै डा. प्रकाश श्रेष्ठले कोरोनाकाबारे मिडियामा आएका कुराहरुले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो । विश्वका १ सय ६२ देशमा कोरोना फैलिए पनि नेपालमा अझै नआउनु सुखद रहेको भन्दै विशेष सावधानी अपनाउन जरुरी रहेको उहाँको भनाई छ । उहाँले प्रत्येक कार्यालय, बैङ्क, अस्पताल, स्कूल, कलेज, सार्वजनिक बस, सभा, समारोह, भीँडभाडमा आदिमा आवश्यक काम बाहेक नजान आग्रह गर्नुभयो । डा. श्रेष्ठले कुनै काम गरिसके पछि अनिवार्य रुपमा साबुनपानीले हात धुन, सरसफाईमा ध्यान दिन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।
छलफलमा बोल्दै बाणगंगा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष भीष्मराज भुसालले नगरपालिकामा यसमा सतर्क रहेको बताउँदै विशेष कामहरु गर्न लागेको जानकारी गराउनु भयो । यस विषयमा कार्यपालिकाको वैठकमै निर्णय गरेर विशेष काम गर्ने बताउनु भयो । नगरपालिकाले यस अघि नै भीँडभाड र सभा समारोहमा नजान, नगर्न नगरबासीलाई अनुरोध गरिसकेको बताउनुभयो । कोरोना नेपालमा नआएकै आधारमा सावधानी नअपनाएमा जोखिम बढ्ने भन्दै सबै सचेत हुनुपर्ने उहाँको भनाई छ ।
अस्पतालका महासचिव पोम नारायण पौडेलले नगरले यस विषयमा खासै चासो नदिएको बताउनु भयो । उहाँले अब अस्पतालले परिसरमा हात धुने स्थान बनाएको र हात धोएर मात्र अरु काम सुरु हुने गरी तयारी गरेको बताउनु भयो । अस्पतालका अध्यक्ष रामजी सेनले अस्पतालको यो प्रयास सुभारम्भ भएकाले सबै संघ संस्थाले यस्ता जनचेतनामुलक काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले कोरोनाका लक्षण कसैलाई देखा परेको जस्तो लागेमा अस्पतालले छुट्टै आइसोलेशन कक्ष तयार पारेकाले त्यहाँ राखेर हेरविचार गर्न सकिने बताउनु भयो । अहिले एक वटा मात्र आइसोलेशन कक्ष बनेकाले यदि शंकास्पद विरामी धेरै भएमा कक्ष बढाउन सकिने पनि उहाँले बताउनु भयो । छलफलमा बाणगंगा नगरका बिभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  ६ : ४५ बजे