मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले पिपरा अस्पतालमा आइसोलेशन कक्ष स्थापना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध पूर्व तयारी स्वरुप वाणगंगाले पिपरामा आइसोलेशन कक्ष स्थापना गर्ने भएको हो । बुधबार नगरपालिकामा विपद व्यवस्थापन समितिले आयोजना गरेको छलफल कार्यक्रमबाट पिपरामा आइसोलेशन कक्ष बनाउने निर्णय गरिएको छ ।
विश्वभर कोरोना भाइरस फैलिरहेको अवस्थामा वाणगंगा नगरपालिका नतातिएको आरोप लागि रहेको बेला वाणगंगाले सम्भावित जोखिम न्यूनिकरण स्वरुप सचेतना जगाउन प्रचार प्रसारलाई बढी जोड दिएको छ । मंगलबार मात्र रेडियो मायादेवी र मायादेवी अनलाइन डटकमले कोरोना भाइरसबारे वाणगंगाले कुनै तयारी नगरेको नगरबासीको गुनासो सहित समाचार प्रशारण, प्रकाशन गरेको थियो ।
स्थानीय सञ्चार माध्यमबाट कोरोना भाइरस विरुद्धको सचेतना जगाउने र गाउँ-गाउँसम्म पुगेर सरसफाईबारे सिकाउने, पर्चा पम्पलेट वितरण गर्ने तयारी वाणगंगाले गरेको छ ।
विहीबार देखि एसईई परीक्षा सञ्चालन हुने केन्द्रमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने भएको छ । विद्यार्थीहरु विरामी भैहाले हेल्थ डेस्कमा चेकजाँच गर्ने र कोरोना भाइरसमाथि शंका लागे तुरुन्तै आइसोलेशन कक्षमा लैजाने गरी नगरपालिकाले तयारी गरेको विपत व्यवस्थापन समितिका संयोजक विष्णु गिरीले जानकारी दिनुभयो ।
छलफलमा बोल्ने अधिकांशले नगरपालिकाले कोरोना भाइरसबारे पूर्व सचेतना गर्न किन ढिला गरेको भन्दै प्रश्न गरेका थिए । सरसफाईमा ध्यान नदिदा यो रोगको संक्रमण बढी हुने गरेको छ । अझै पनि गाउँ गाउँमा सरसफाई सम्बन्धि ज्ञानको कमी भएको भन्दै यो विषयलाई प्रमुखताका साथ लैजानुपर्ने सुझाव दिइएको थियो ।
साप्ताहिक हाट बजार बन्द गर्नुपर्ने कुरा उठेपनि नगरपालिकाले यसबारे कुनै निर्णय गर्न नसकेको बताइएको छ । भारतीय व्यापारीको दबदबा रहने हाट बजारमा कोरोना भाइरसको संक्रमण उच्च हुने भएको भन्दै नगरबासीले हाट बजारलाई बन्द गर्न माग गरेका थिए । भारतको लखनउसम्म कोरोना भाइरसको संक्रमण आएकाले यो विषयमा सचेत हुनुपर्ने अधिकांशको धारणा छ । तर, वाणगंगाले हाट बजार बन्द नगर्ने भएको छ ।
विपतको बेला व्यापारीले कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्यनगर गर्दैै नगरपालिकाले अनुगमनलाई तीव्रता दिने भएको छ । नगर क्षेत्र भित्रका बजारमा अनुगमन गर्ने र उपभोक्तलाई कुनै सामग्रीको उपुग हुन नदिने नगरपालिकाले जनाएको छ ।
साथै नगरपालिकामा कोरोना भाइरसबारे सचेतना जगाउन नगर प्रमुख मंगल प्रसाद थारुको संयोजकत्व र उप प्रमुख चक्रपाणी अर्यालको उपसंयोजकत्वमा नगरस्तरीय समिति गठन भएको छ । यस्तै वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर कोरोना भाइरसबारे सम्भावित जोखिम न्यूनिकरणका उपाय अवलम्वन गर्ने नगरपालिकाले तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बताउनुभयो ।
५ चैत्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया