बुटवल ।
मंगलबार बसेको प्रदेश ५ सरकारले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले प्रदेशमा सञ्चार परिषद गठन गर्ने विधेयकको लागि सैद्धान्तिक सहमती प्रदान गरेको छ । जसबाट विधेयक तयार गरी प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिने छ ।
यस्तै मन्त्री परिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत दाङ्ग जिल्लाको लमहीमा प्रदेश उर्जा कार्यालय स्थापना गर्ने गरी ल्याएको प्रस्तावमा स्वीकृत गर्दै ८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी समेत स्वीकृत गर्ने छ ।
प्रदेश गौरवका आयोजनाहरु मध्ये रहेका विद्युतीय काम हेर्ने गरी अस्थायी प्रकृतिको कार्यालय स्थापना गर्न लागिएको प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ल्याइएको प्रदेश सहकारी नियमावली स्वीकृत गरेको छ । अव प्रदेशमा सहकारी दर्ता, नविकरण, खरेजी लगायतका सबै काम सुरु हुने छन ।
मन्त्रीपरिषदले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाउन लागेको भूमि सम्बन्धी ऐनको लागि विधेयक तयार गर्नको लागि सैद्धान्तिक सहमती दिएको छ । यस्तै जिवनाशक विषादीको व्यवस्थापन गर्न बन्न लागेको विधेयकको लागि समेत स्वीकृत प्रदान गरेको छ ।
मन्त्रीपरिषद् बैठकले केही दिन पहिला परेको असिना पानीबाट भएको क्षतीको एकिन विवरण संकलन गर्नको लागि वालीनालीमा भएको नोक्सानीको विवरण समेत संकलन गर्नको लागि कृषि ज्ञान केन्द्र र जिल्लाको विपत व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया