१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतका पूर्वप्रधानन्यायाधीश गोगोई राज्यसभामा मनोनित



एजेन्सी ।
भारतका पूर्वप्रधानन्यायाधीश रञ्जन गोगोई राज्यसभा सदस्यमा मनोनित भएका छन्।
राष्ट्रपति रामनाथ कोविंदले उनलाई राज्यसभामा मनोनित गरेको भारतीय सञ्चारमाध्यामहरूले जनाएका छन्।
राष्ट्रपति कोविंदले संविधानले दिएको अधिकार प्रयोग गर्दै रिक्त एक सदस्यको पदमा उनलाई मनोनित गरेको भारतीय गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।
गोगोईले गएको नोभेम्बरमा प्रधानन्यायाधीशबाट अवकाश लिएका थिए। अवकाश लिनु अघि उनले लामो समयदेखि विवादमा रहेको अयोध्याको बाबरी मस्जिदको मुद्दामा फैसला गरेका थिए।
बाबरी मस्जिद भएको जग्गामा बन्ने मन्दिर गठित समितिको नाममा हुने र मस्जिद बनाउन अर्कै ठाउँमा पाँच एकर जमिन दिने फैसला उनले गरेका थिए।
साथै उनले नरेन्द्र मोदी जोडिएको रफाएल विमान भ्रष्टाचार मुद्दा, सिआइबी निर्देशक आलोक बर्मालाई हटाएपछिको विवाद लगायतका मुद्दा छिनेका थिए। कस्मिर विवाद सम्बन्धी मुद्दाको पेशी नतोकेको भनेर पनि गोगोई विवादास्पद बनेका थिए। मोदी सरकारको ईसारामा फैसला गर्ने आरोप लाग्दै आएका गोगोईलाई राष्ट्रियसभामा मनोनित गरिएको विषय पनि विवादित भएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ३ : ३८ बजे