वासिङ्टन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै एक ट्वीट गरे । कोरोना भाइरसको महामारीबाट प्रभावित एयरलाइन्स उद्योग लगायत व्यवसायलाई अमेरिकाले सहयोग गर्ने उनको प्रतिवद्धता थियो । ट्वीटमा प्रतिवद्धता मात्रै थिएन । ‘कोभिड–१९’ नाम दिइएको कोरोना भाइरसलाई ट्रम्पले ‘चाइनीज भाइरस’को संज्ञा दिए । जब कि, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड–१९ भनेर नाम दिइसकेको थियो । ट्रम्पले यसलाई चीनले नै सिर्जना गरिदिएको भाइरसको रुपमा चित्रित गरिदिँदा आलोचित बनेका छन् ।
सामाजिक सञ्जालमा ट्रम्पको कडा आलोचना हुन थालेको छ । खासमा कोरोना भाइरस चीनको वुहान सहरमा पहिलो पटक भेटिएको थियो । जुन तथ्यमाथि पनि पछिल्लो समय प्रश्न उठ्न थालेको छ । अमेरिकी सेनाबाट उक्त भाइरस फैलिएको केही दावी हुन थालेका छन् । यस्तो सन्दर्भमा ट्रम्पले गैरजिम्मेवार रुपमा ‘चाइनीज भाइरस’ भनिदिँदा धेरैले आपत्ति जनाएका हुन् । त्यसो त, यसअघि नै चिनियाँ लेखक तथा मिडियाले ‘चिनियाँ भाइरस’ भनिएकोमा आपत्ति जनाउँदैआएका छन् । रोगलाई कुनै क्षेत्र विशेषसँग जोडेर व्याख्या गर्न नहुने उनीहरुको तर्क थियो । पछिल्लो समय अमेरिकामा मात्रै कोरोना भाइरसका संक्रमित ४ हजार ६ सय भेटिएका छन् । साथै ७९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक राष्ट्रपति ट्रम्पले ‘अदृश्य दुश्मन’सँग लड्नु परेको भन्दै सबैलाई सचेत रहन आग्रह पनि गरेका थिए । साथै १० जना भन्दा धेरैको जमघट नगर्न समेत उनको आग्रह थियो ।
प्रतिक्रिया