१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना संक्रमण रोक्न देउवाको ९ बुँदे ध्यानाकर्षण पत्र



काठमाडौं ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ९ बुँदे ध्यानाकर्षण गराएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षणको विषयमा जानकारी गराएका हुन् । पत्रमा कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न प्रभावकारी र भरपर्दो सीमा नाका कडाइका लागि आग्रह गरिएको छ । जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार गर्न पनि देउवाले अपिल गरेका छन् । देउवाले समयमै वास्तविक सूचना सम्प्रेषण गरेर अफवाह चिर्नसमेत आग्रह गरेका छन् ।
यस्तो छ ९ बुँदे ध्यानाकर्षण

१.सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनै पनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औँल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु ।

२. सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र आईसीयूसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औँल्याउन चाहन्छु ।

३. अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेको ध्यानाकर्षण गराउन चाहन्छु ।

४. अत्यावश्यक खाद्यान्नको थप मूल्यवृद्धिसँगै कालोबजारी फस्टाएको छ । बजारमा सरकारका सम्बन्धित निकायको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औँल्याउन चाहन्छु ।

५. सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने सङ्केत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ ।

६. पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमणपूर्वको असर भोगिरहेका छन् । समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औँल्याउँदछु ।

७. सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेषगरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवम् दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गर्दछु ।

८. विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदछु ।

९. स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ३ : २५ बजे