१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना विरुद्धको सचेतनामा वाणगंगा नगरपालिका मौन, भएनन् कुनै गतिविधि



मायादेवी अनलाइन, चारनम्बर ।
चिनबाट सुरु भएको कोरोना भाइरस हाल विश्वका १ सय ६२ भन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाको सन्त्रासका कारण यसविरुद्ध कसरी लड्ने भन्ने विषयमा यतिबेला विश्व जगत् छलफलमा छ । सार्क राष्ट्रहरुले यस विरुद्धमा लड्नका लागि भिडियो कन्फ्रेन्स गरी एकजुट हुने बताइसकेका छन् । युरोपमा मंगलबार साँझमात्र कोरानो भाइरस विरुद्ध कसरी लड्ने भन्नेबारे भिडियो कन्फ्रेन्स हुँदैछ । अमेरिकाले एकै स्थानमा दश जना भन्दा बढी भेला नहुन अनुरोध गर्दै आपत्कालिन अवस्था घोषणा गरिसकेको छ । कतार, मलेसिया, साउदीअरेबीया लगायतका देशमा सबै उडान बन्द भैसकेका छन ।
नेपाल सरकारले पनि कोरोना भाइरस विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गर्न प्रदेश र स्थानीय सरकारलाई निर्देशन जारी गरिसकेको छ । केन्द्र सरकारले प्रत्येक स्थानीय तहमा नगरस्तरीय समिति गठन गरी कोराना विरुद्धको सचेतना जगाउन निर्देशन जारी गरेको छ ।
कपिलवस्तुका १० स्थानीय तह मध्ये बुद्धभूमि नगरपालिकामा नोबेल कोरोना भाइरस विरुद्धको सचेतनाका विषयमा नगरस्तरीय अगुवा सरोकारवालाहरुको अन्तरक्रिया भयो । अन्तरक्रियामा स्थानीयस्तरमा लाग्ने हाट बजार समेत बन्द गर्ने विषयमा गम्भिर छलफल भयो । यतिमात्र होइन बुद्धभूमिले एक साता अघिबाट नै कोरोना विरुद्ध अपनाउनुपर्नेे सचेतनाका विषयमा गाउँ गाउँमा माइकिङ गरिरहेको छ । तर, जिल्लाका बाँकी पालिकाहरु यस विरुद्धको सचेतनामा मौन बनेका छन ।
कपिलवस्तुकै समृद्ध नगरपालिका भनेर चिनिने वाणगंगा नगरपालिका कोराना भाइरस विरुद्धको सचेतना अभियानमा मुख टालेर बसेको छ । कोराना भाइरसले संसारलाई आतङ्कित बनाएको तीन महिना बढी भैसक्दा पनि नगरबासीहरुलाई सचेत बनाउनमा वाणगंगा नगरपालिका चुकेको हो । विभिन्न स्थानमा संघ संस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहँदा वाणगंगा नगरपालिकाले भने कुनै गतिविधि गर्न भ्याएको छैन । यतिसम्मकी नेपाल सरकारले एक साता भन्दा अगाडी नै कोरोना भाइरस विरुद्ध सचेतना जगाउन नगर र वडा स्तरीय समिति गठन गर्न निर्देशन जारी गरेको थियो । वाणगंगाले यो समिति गठन गर्न समेत भ्याएको छैन ।
यति मात्र होइन वाणगंगाले स्थानीय सञ्चार माध्यमबाट यसबारे सामान्य सुचना समेत प्रशारण, प्रकाशन गर्न सकेको छैन । नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले कोरोना भाइरस विरुद्धको सचेतनाका लागि गठन गर्न भनिएको नगरस्तरीय समिति गठन अझै भैनसकेको बताउनुभयो । बुधबार बस्ने कार्यपालिकाको बैठकमा यस विषयमा छलफल हुने उहाँको भनाई छ ।
छिमेकी राष्ट्र भारतमा मंगलबार दिउँसोको तथ्याङ्कमा तीन जनाको मृत्यु भैसकेको छ भने सयौं संक्रमित भएको समाचारले खुल्ला सिमा नाका भएको कपिलवस्तु र यस आसपासका जनता त्रसित बनेका छन । केही शहर बजार बाहेक भित्रि गाउँ र सुकुम्बासीबस्तीहरुमा कोरोना भाइरसबाट कसरी बच्ने भन्ने केही थाहा छैन । वाणगंगा नगरपालिकाका विभिन्न सुकुम्बासी र विपन्नबस्तीमा मायादेवी टोली पुग्दा उनीहरुले केही थाहा नभएको बताए ।
हातको सरसफाई राम्रोसंग नगर्दा तीव्र गतिमा सर्ने यस भाइरस विरुद्ध नगरपालिकाले त्यस्ता वस्तीहरुमा सरसफाई सम्बन्धि जनचेतनामूलक अभियान गर्नुपर्ने हो । तर, नगरपालिका यस विषयमा गम्भिर देखिएको छैन । अझै स्थानीयस्तरमा लाग्ने हाटबजारका कारण पनि यो भाइरस फैलने हो कि भन्ने डर नगरबासीमा छ ।
विशेषगरी भारतबाट व्यापारीहरु स्थानीय हाट बजारमा आउने भएकाले सर्वसाधारण बढी त्रसित छन । विश्व महामारीको रुपमा रहेको कोरोना विरुद्ध सर्तकता अपनाउन नगरपालिकाले स्थानीय बजार बन्द गर्नेसम्मको आट गर्नुपर्ने सरोकारवाला बताउँछन । नगरपालिका यस विषयमा पनि गम्भिर छैन । बुधबार बस्ने भनिएको कार्यपालिकाको बैठकमा हाट बजार बन्द गर्ने निर्णय हुन्छ कि हुँदैन हेर्न बाँकी छ । उसो त केही दिन अगाडी नगरपालिकाले होली पर्वलाई लक्षित गरी भिडभाड नगर्न एक विज्ञप्ति मार्फत अनुरोध मात्र गरेको थियो ।
यता छिमेकी बुद्धभूमि नगरपालिकाले हाट बजार बन्द गर्दै छ भने रुपन्देहीको तिलोत्तमाले बन्द गरिसकेको छ । देवदेह नगरपालिकामा यस विषयमा सोमबार मात्र छलफल भैसकेको छ ।
नगरका विद्यालयले पनि यो भाइरसबाट बच्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छन भने पूर्व निर्धारित समय तालिका अगावै परीक्षा सकेर विद्यालय बन्द गर्ने तयारीमा छन । तर, सिंगो स्थानीय सरकारको भूमिकामा रहेको वाणगंगा र यसका जनप्रतिनिधिहरु अन्य काममा व्यस्त देखिन्छन ।
मायादेवी टोलीले नगरपालिकाको स्वास्थ्य शाखामा बुज्दा यसको सचेतनाका विषयमा प्रदेश सरकारको निर्णय कुरेर बसेको पाइएको छ । एक जना स्वास्थ्यकर्मीले नगरपालिकाले कुनै तयारी नगरेको र प्रदेश सरकारको निर्णय कुरेर बसेको बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले पनि कोरोना विरुद्धको सचेतनाका लागि लाग्ने बताउनुभयो । प्रदेशले निर्देशन जारी गरेपछि मात्र कार्यक्रम गर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।
नगरका प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल अन्यन्त्र काममा व्यस्त देखिनुहुन्छ ।
यता मायादेवी मिडिया ग्रुप अन्तरगतका रेडियो मायादेवी, मायादेवी अनलाइन, मायादेवी टिभीले नगरमै पहिलो पटक सचेतना जगाइसकेको छ । यस्तै रेडियोबाट पनि चेतनामूलक सामग्री प्रशारण गरिरहेको छ । यस्तै रोट्याक क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तुले पनि स्थानीय स्तरमा माइकिङ गरिरहेका छन ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  २ : ०९ बजे