१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरोकारवाला भन्छनः हाट बजार बन्द गरौं, कालोबजारी गर्नेमाथि निगरानी बढाऔं



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि भित्रका प्रमुख राजनीतिक दलका नेताहरुले साप्ताहिक रुपमा लाग्दै आएका हाट बजारलाई बन्द गर्न माग गरेका छन । संसारभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) नेपालमा जतिबेला पनि भित्त्रन सक्ने भन्दै उनीहरुले पूर्ण सचेतना स्वरुप साप्ताहिक हाट बजार बन्द गर्न माग गरेका हुन ।
बुद्धभूमि नगरपालिकाको आयोजनामा सोमबार गोरुसिंगेमा आयोजित नोबेल कोरोना भाइरसको संक्रमणबाट रोकथाम तथा नियन्त्रण सम्बन्धि नगर स्तरीय सचेतनामूलक अन्तरक्रियामा बोल्ने प्रमुख राजनीतिक दलका नेताहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाजबादी पार्टीका केन्द्रिय सदस्य विष्णुहरि शर्माले कोरोना भाइरसबारे आत्तिनुपर्ने अवस्था नभएको तर, सचेतना जरुरी रहेको बताउनुभयो । समाजमा यो रोगबारे सचेतना जरुरी रहेको भन्दै उहाँले आवश्यकता औल्याउनुभयो । नगरभित्र हुने भिडभाडलाई चैत्र महिनाभरी रोक्नुपर्ने बताउनुभयो । हाट बजारमा अधिकांश व्यापारी भारतबाट आउने भन्दै उहाँले यसलाई केही महिना रोक्नुपर्नेमा जोड दिनुभयो । तर, बजार रोक्दा कालोबजारीयाहरु सलबलाउन सक्ने भन्दै यसमा नगरपालिका र प्रशासन चनाखो बन्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता पिताम्बर खनालले स्वास्थ्यकर्मी तल्लो तहको गाउँमा गएर कोरोना भाइरसबारे सचेतना जगाउनुपर्ने बताउनुभयो । अरुलाई भन्दा बढी विश्वास स्वास्थ्यकर्मीलाई गर्ने भएकोले यो रोगबारे नगरले गाउँस्तरमा स्वास्थ्यकर्मी परिचालित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले हाट बजार बन्द गर्नुभन्दा पहिला कालोबजारीको अवस्था बुझेर कदम चाल्नुपर्ने बताउनुभयो । मौकामा चौका उठाउने परिपाटी समाजमा बढी भएको भन्दै बजारको अनुगमन पश्चात हाट बजार बन्द गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका नगर सभापति माधव दमासेले साप्ताहिक हाट बजार तुरुन्त बन्द गर्न माग गर्नुभयो । भारतमा समेत कोरोना भाइरसले माहामारीको रुप लिन थालेको भन्दै उहाँले खुल्ला सिमानाका कारण जुनसुकै बेला यो भाइरस नेपालमा भित्रन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । हाट बजारमा आउने अधिकांश व्यापारी भारतका हुने भएकाले भाइरसको त्रास भरी हाट बजार बन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष कपिलदेव तिवारीले आफुले वडास्तरमा कोरोना भाइरसबारे सचेतना जगाउने गरी काम गर्ने बताउनुभयो । सबैमा यस भाइरसबारे सचेतना जरुरी रहेकाले समाजका अगुवा, शिक्षक, नेता सबैलाई परिचालन गरेर काम गर्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर क्षेत्रीले नगरबाट आवश्यक पर्ने औषधि र माक्र्सको हरेक स्वास्थ्य चौकीमा उपलब्ध गराइने बताउनुभयो । यो समय कुरा भन्दा व्यवहारमा काम गरेर देखाउने बेला भएको भन्दै सबै आ-आफ्नो क्षेत्रमा सचेत बनेर कोरोना भाइरसबाट बच्नुपर्ने बताउनुभयो ।
अन्तरक्रियाको अध्यक्षता गर्नुभएका नगर प्रमुख केशव कुमार श्रेष्ठले साप्ताहिक हाट बजारलाई केही समयका लागि बन्द गर्ने प्रयास भैरहेको जानकारी दिनुभयो । यसको लागि विभिन्न क्षेत्रसंग आवश्यक छलफल गर्ने बताउनुभयो । सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्नु मौसम परिवर्तनको पनि हुने भन्दै स्वास्थ्यकर्मीहरु यसमा बढी सजग बन्नुपर्ने बताउनुभयो । अनाश्वयक हल्लाले सर्वसाधारणमा अपवाह फैलन सक्ने तर्फ सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नगरका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले नोबेल कोरोना भाइरसको विश्वको अवस्था, यसका रोकथामका उपायबारे जानकारी दिनुभएको थियो । नगरस्तरका अगुवा सरोकारवालाको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  ७ : ५० बजे