काठमाडौं ।
राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले देशमा यदि कु्नै प्रतिगमन भयो भने त्यो नक्कली राष्ट्रवादको घोडा चढेर आउने बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा उनले राज्य सञ्चालन प्रणालीमाथि नै चुनौती दिने गरी सत्तापक्ष र सत्ताबाहिरका पार्टीबीच असान्दर्भिक बहस भईरहेको भन्दै त्यसले देशलाई प्रतिगमनकारी दुर्घटनातर्फ धकेल्ने बताए ।
एउटा व्यक्तिलाई अगाडि बढाउने विषयमा र आन्तरिक जोड घटाउलाई मिलाउन सत्तापक्षभित्र चलेको बहसले पार्टीको आन्तरिक द्वन्द्व र अकर्मण्यता बढाउदै लगेर अन्ततः मुलुकलाई आन्तरिक दुर्घटनामा पार्न सक्ने जोखिम बढाएको उनको दाबी थियो । उनले नेताहरूको देवत्वकरण गरिएकाले पनि देशमा जोखिम बढ्दै गएको दाबी गरे । सरकार र सत्ताधारी पार्टीका केही पक्ति कमिसन एजेन्टको जालोमा परेको र ती विषय विस्तारै स्थापित हुँदै गएको बताए ।
“तपाईहरूको अकर्मण्यताले, कार्यशिथिलताले, आन्तरिक द्वन्द्वले, तपाईहरूको आन्तरिक घर झगडाले कही यो मुलुक प्रतिगमनकारी दुर्घटनामा जाने त होइन् रु यो कुरा ध्यानाकर्षण गराउन चाहन्छु म । यो मुलुकमा यदि कु्नै प्रतिगमन भयो भने त्यो नक्कली राष्ट्रवादको घोडा चढेर प्रतिगमन आउँछ, त्यो प्रतिगमन आयो भने त्यो भ्रष्टाचारको घोडा चढेर प्रतिगमन आउँछ ,” उनले भने ।
महिनौंदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा राज्य संञ्चालनका महत्वपुर्ण निर्णयहरू हुन नसकेको भन्दै उनले नेताहरूको देवत्करणले मुलुकलाई दुर्घटनामा लैजानले भएकाले त्यस किसिमको प्रवृत्ति नदेखाउन सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी तीनवटा समुहको एकीकरणपछि जारी गरिएको घोषणापत्रमा धर्म निरपेक्षता र गणतन्त्रकाबारे प्रश्न खडा गरेको र राजतन्त्र फर्काउनुपर्छ भनेर लागेको, साझा पार्टीले समेत संघीयता आवश्यक नरहेको भन्दै जनमत संग्रहको प्रस्ताव अघि सारेको उल्लेख गर्दे यी दुई घटनाप्रति चिन्तित बन्नुपर्ने आवश्यकता औंल्याए ।
“केन्द्रीय राजनीतिक परिदृश्यलाई हेर्ने हो भने केही अशुभ संकेतहरू मैले देखिराखेको छु । सुदुरतिर आउन खोजेको केही दुर्घटनाका लक्षणहरू देखेको छु । नेपाली जनताको त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौ ,” उनले भने, “ तर नेपाली केन्द्रीय राजनीतिमा विगतका केही दिनहरूमा केही यस्ता गतिविधिहरू देखिएका छन् जसबाट क्रान्तिको नेतृत्व गर्ने सारा राजनीतिक शक्तिहरू अलिकति निधार खुम्च्याएर सोच्नुपर्ने र परिस्थितिको मूल्यांकन गर्नुपर्ने आवश्यकता छ । ”
प्रतिक्रिया