मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संसारभर फैलिएको कोरोना भाइरसबारे जनचेतनामूलक कार्यक्रम गरेर समुदायमा सचेतना जगाउनुपर्नेमा जोड दिनुभएको छ । समुदायमा कोरोना भाइरसबारे नकरात्मक प्रचार बढी भएको भन्दै नगर प्रमुख श्रेष्ठले स्थितिलाई भयावह नबनाउन सबैमा आग्रह गर्नुभयो ।
नोबेल कोरोना भाइरसबारे सचेतना जगाउने उद्धेश्यले सोमबार गोरुसिंगेमा आयोजना गरिएको नगरस्तरीय सरोकारवालासंगको छलफलमा बोल्दै उहाँले नगरपालिकाले समाजका अगुवासंग हातेमाले गरेर यो रोगबारे जनचेतना जगाउने बताउँनुभयो ।
यो रोग लागे पछि बाच्न गाह्रो हुन्छ भन्ने भ्रम समाजमा रहेको भन्दै अधिकांश संक्रमितलाई निको भएको खबर गाउँगाउँसम्म पुर्याउनुपर्ने बताउनुभयो । सामान्य रुघाखोकी लाग्दा पनि यो रोगको सन्त्रास समाजमा छाउन थालेको भन्दै यसलाई चिर्न जरुरी रहेको उहाँले बताउनुभयो । संसारभर जतिलाई कोरोना भाइरस लागेको छ अधिकांशलाई निको भएको खबर सुनेका छौं, हामीमा अनावश्यक सन्त्रास किन ? उहाँले भन्नुभयो, “मनोवल कमजोर बनाउने गरी प्रचार गर्दा रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन्छ, त्यसो नगरौं ।”
कोरोना भाइरसले सताएको देशमा सबैभन्दा बढी सरसफाईमा ध्यान दिने गरेको भन्दै यहाँपनि यसैलाई मुख्यगरी ख्याल गर्नुपर्ने बताउनुभयो । ठूला भिडभाडमा ननिस्कने, निस्कनै परे माक्र्स अनिवार्य प्रयोग गर्ने, सामान्य रुघाखोकी लागे तुरुन्तै नजिकको स्वास्थ्य चौकीमा गएर उपचार गर्ने लगायतका उपाय अपनाउन नगरबासीलाई उहाँले आग्रह गर्नुभयो ।
कोरोना भाइरसलाई लाग्नै नदिन समुदायमा सकारात्मक सचेतना जरुरी रहेको भन्दै नगरपालिकाले नगरस्तरीय समिति गठन गरेर आवश्यक तयारी गरेको उहाँले जानकारी दिनुभयो । केन्द्र सरकारको निर्देशन अनुसार नगर र वडा स्तरमा समिति गठन गरेर यो भाइरसबारे जनचेतना जगाउने गरी आवश्यक काम नगरले गरिरहेको उहाँले जानकारी दिनुभयो ।
३ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया