१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

असिनाले थिचिएको शितगंगामा ठुलो जनधनको क्षति, भेटियो हृदयविदारक शव !



विष्णु कुमार आले, अर्घाखाँची ।
यहि चैत १ गते राती अबिरल बर्षासंगै परेको असिनाले थिचेर अर्घाखाँचीमा २ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा अर्घाखाँची शितगंगा १२ रजिया रातामाटा निवासी बिष्णु बहादुर नेपालीको १० बर्षीय छोरा बिकास नेपाली रहेका छन् । दिउँसो २ बजे घरबाट निस्केका बिकास घर आउन नपाउँदै बाटोमा असिना पानिले कुटेपछि मृत अवस्थामा उनको शव अर्को दिन जङ्गलमा गाँउलेले फेला पारेका थिए ।

त्यसैगरी भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरा चरेपानी निवासी ३८ बर्षीय शालीक बहादुर बलालको मृत्यु भएको हो । बलाल चैत १ गते साँझ गौचर गाँउमा पुगेर घर फर्कने क्रममा भिरबाट लडेका थिए । भिरबाट लडेर घाईते भएका बलालको उद्दार हुन नपाउँदै अबिरल बर्षासंगै परेको असिनाले कुटेर पात्लेखोलामा उनको सव अर्कोदिन स्थानीयले फेला पारेका थिए ।

यसरी अबिरल वर्षासंगै परेको बाक्लो असिनाले देशकै ठूलो नगरपालिका शितगंगा ३ र ४ मा पाक्नै लागेको हिउँदे गहुँबाली, तोरी, सरसियु, तरकारीमा आलु, काउली, टमाटर, केराउ, फलफूल जस्ता बालीहरू स्याहार्न नपाउँदै पूर्ण रूपमा नष्ट गरेको छ । पाक्न लागेको मुख्य गहुँबाली असिनाले थिचेर सिख्रै बनाएको छ । त्यसै गरी वडा नम्बर ५ र ७, १२ र १३ मा आंसिक रूपमा हिउँदे बाली नष्ट गरेको छ । निरन्तर करिव ३ घण्टा बाक्लो ३ फुट असिना परेपछि कुखुरा फर्मका टहरा भत्किएपछि धेरै कुखुरा मरेका छन् । कच्चि घरहरू, ट्रसका छानाहरू, विभिन्न नर्सरीको टनेलाहरू भत्किन गई करोडौंको क्षति भएको छ ।

बाक्लो रूपमा परेको असिनापानीले पूर्णरूपमा मानवीय क्षतिसंगै बर्ष दिन खाने अन्नबाली नष्ट भएपछि यहाँका किसानहरू चिन्तित छन् । श्रीमानले साथ छोडेपछि तरकारी बेचेरै आफ्नो जिबिका चलाउदै आएकी शितगंगा ३ साहुँटोला निवासी बालकुमारी चर्तिमगरले आँखाबाट आँसु झार्दै भन्छिन्, ‘संगै मरौला संगै बाचौला भन्ने जीवनको सहारा श्रीमानले त अर्की श्रीमती बिहे गरी साथ छोडे छोडे तर प्राकृतिले पनि उठ्न नसक्ने गरि क्षति गर्यो ।’
तरकारी बेचेर आएको दुईचार पैसा जम्मा गरेर बर्ष दिन खानेकुरा जुटाउदै आएकी थिए । तर यसपटक सबै खेती असिनाले नष्ट गरेपछि ५ जनाको परिवार कसरी पाल्ने, उनले गुनासो गरिन् ।

उनी भन्छिन्, ‘कमाउने कोहि छैन यहि तरकारी बेचेर छोराछोरीको पढाइ खर्च, लत्ताकपडा, जुटाएको थिँए । सरकारले त क्षति पूर्तिदेला तर हामीजस्ता गरिव दुखि असायको बोल्दिने को हुन्छर क्षतिपूर्ति पाउने ।’
त्यस्तै काउली, बन्दा, टमाटर, साग बेचेरै जिबिका चलाउँदै आएकी शितगंगा ३ पाणेगैरा निवासी पोमा पौडेलको पीडा पनि उस्तै छ । बारीमा तयारी भएको तरकारी बाली असिनाले चुटेर नष्ट पारेपछि हजारौं बराबरको क्षति भएको किसान पोमा पौडेलले बताईन् । बारिमा पाक्नै थालेको मुख्य गँहुबाली भित्राउन नपाउँदै असिनाले सखाप पारे पछि ठूलो परिमाणमा किसानको अन्नबाली र तरकारीबाली नष्ट गरेको छ ।

उनी जस्तै हजारौं किसान चिन्तामा छन् । तरकारी सगै टनेला भित्र विभिन्न प्रजातीका फुलहरूको नर्सरी राखेर बिक्रीवितरण गरि दैनिक गुजारा गर्दै आएका शितगंगा ३ थर्पुका कमानसिङ दर्लामी पनि उत्तिकै चिन्तित छन् । नर्सरी र तरकारी पुर्णरूपमा नष्ट भएपछि २५ लाख बढि क्षति भएको उनी बताउँछन् । उनी भन्छन्, ‘नर्सरीमा साना साना फुलका बिरुवाहरू थिए सबै असिनाले सखाप पारिदियो । अब बिहान बेलुकाको छाक टार्न निकै समस्या हुन्छ ।’

यस्तै शितगंगा ३ को खसर्का, पाँडेगैरा, ओलिडाँडा, बाउन्ने, घोराखोरी थर्पुटोला, बजारटोला, साहुटोला, मनिडाँडा, टुडिखेल, कैलासे, तल्ला पदमे, उपल्ला पदमे, खिब्दी, पखेरे, पाँचपोख्रा, वडा नम्बर ४ को सानदह, रातामाटा, थानकोट, ओखलढुङगा पोखडाँडा, अमराई, गोर्थुम, कोप्चिबास, भेडामारे, जसरामे, चक्ला लगायतका टोलवस्तीहरूमा असिनाले पूर्णरूपमा क्षति गरेको छ ।

वडा नम्बर ५ को कालीमाटी, फुर्सामाटा, भुवनथाना, कल्लेरी, चुरेटोला, गल्दा, भाविन, पोख्री, वडा नम्बर १२ को रजियाँ, खुम्चीकोट, पोख्री, कुडापानी मैदान, जोख्लेगैरा, दमार, टर्रे, जलुके, टिक्करी र वडा नम्बर १३ को रिकोट क्षेत्रमा असिनाले क्षति पुराएको छ । खास गरि शितगंगाको वडा नम्बर ३,४,५ र १२ का ३ हजार भन्दा बढि घरपरिवारमा करोडौंको क्षति पुराएको हो ।

स्थानीय सरकारको तयारी

प्राकृतिक प्रकोपबाट ठूलो क्षति व्यहोर्नु परेपछि शितगंगा नगरपालिका र जिल्ला बिपत व्यवस्थापन समितिका प्रतिनिधि र पत्रकारहरूको रोहवरमा नगरपालिकामा बसेको आपतकालिन बैठकले यस घटनालाई राष्ट्रिय बिपत्तीको रूपमा लिएको छ । यस राष्ट्रिय प्राकृतिक बिपत्ती पछि हुन सक्ने विभिन्न समस्याहरूलाई हल गर्न सजकता अपनाउने निर्णय समेत गरेको छ ।

किसानको क्षतिको बिवरण संकलन गरी उचित क्षतिपूर्ती उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकार तथा विभिन्न सरोकारवाला संघ सस्थाहरूसँग सहयोगको माग गर्ने निर्णय गरिएको नगर प्रमुख सूर्य प्रसाद अधिकारीले बताए । देशकै ठूलो पछाडि परेको शितगंगा नगरपालिमा भएको प्राकृतिक बिपत्तीले सबै किसानको जोश जाँगर हराउँदै गएको र चिन्तामा डुबेका किसानलाई माथि उठाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने नगर प्रमुख अधिकारीको भनाई छ ।

जिल्ला प्रसासनको पहल

प्राकृतिक बिपत्ति पछि प्रभावित गाउँ टोलमा जनताको गुनासो सुन्न पुग्नु भएका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले ईतिहास मै यस्तो असिनाको दृष्य आफुले नदेखेको बताए । किसानको घरमै पुगेर बिपत्तीबाट यहाँहरूको ठूलो क्षति भएको भन्दै प्रजिअ पौडेलले प्रभावित क्षेत्रका पीडित किसानहरूलाई उचित राहत उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेल भन्छन्, ‘बढि प्रभावीत क्षेत्रको किसानको पीडा देख्दा म आफै निकै चिन्तित छु ।’

असिनाले थिचिएको यहाँका किसानको जिवनस्थर माथि उठाउन तिनै तहका सरकारसँग समन्वय गरि क्षतिपूर्ति उपलब्ध गराउने उनले बताए । प्राकृतिक बिपत्ती लगत्तै बसेको नगर प्रमुख सूर्य प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, जिल्ला प्रहरी प्रमुख प्रकाश विष्ट, जिल्ला अनुसन्धान प्रमुख बिनय चर्तुभेदी, जिल्ला शसस्त्र प्रहरी प्रमुख माधव रेग्मी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडा अध्यक्ष हेमनाथ भुसाल, दामोदर अधिकारी, नगर योजना प्रमुख नुमलाल खनाल, पत्रकार बिष्णु कुमार आले, नवीन केसी, वडा सदस्य चिन्तराज अधिकारीको उपस्थितिमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक बिपत्तीमा परेका प्रभावित क्षेत्रबाट क्षतिको बिवरण सम्बन्धित वडा कार्यालयहरूमा संकलन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिपत पछि चिसोका कारण महामारी बिरामी हुन सक्ने बिषयलाई ध्यानमा राख्दै आवश्यक औषधी आपूर्तीमा कमी आउन नदिन पूर्व तयारीका योजना तय गर्ने निर्णय गरेको छ । सरदरमा प्रति घरपरिवार २ लाखका दरले क्षतिपूर्ति दिएपनि ३ हजार घर परिवारलाई वितरण गर्दा ६० करोड बराबरको क्षति भएको बैठकको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  २ : १८ बजे