तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको जोखिम रहने भन्दै नगरभित्र सञ्चालित हाटबजार अर्को निर्णय नहुञ्जेल बन्द गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको ८१ औं बैठकले मानिसको उच्च चहल-पहल हुने भएकाले हाटबजार बन्द गराउने निर्णय गरेको हो ।
बैठकले कृषिउपजहरु भने उत्पादक किसानले चोक÷चोकमा राखेर बेच्न सकिने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । किसानले चोकमा आफ्ना कृषि उत्पादन बेच्न सक्ने तर फोहोरको व्यवस्थापन आफै गर्नुपर्ने उहाँले बताउनुभयो । तिलोत्तमामा एक दर्जन बढी स्थानमा सार्वजनिक तथा निजी जग्गामा हाटबजार लाग्दै आएको छ । बजार बन्द गरिँदा किसानको उत्पादन नबिग्रियोस् भन्ने उद्देश्यले भीडभाड नहुने गरी बेच्ने व्यवस्था मिलाउन सकिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
यस्तै नगरपालिकाले नगरबासीलाई लामो यात्रामा ननिस्कन तथा संघ–संस्थाहरुलाई भ्रमणका कार्यक्रम नराख्न पनि आग्रह गरेको छ । यस्तै भारतीय सीमा क्षेत्रमा नजान पनि नगरपालिकाले सबैलाई आग्रह गरेको प्रवक्ता श्रीले बताउनुभयो । नगरपालिकाले विवाह, ब्रतबन्धलगायतका धार्मिक अनुसष्ठानमा पनि सीमित व्यक्तिहरुको बीचमा गर्न नगरबासीलाई अपिल गरेको छ । कोरोना संक्रमण रोक्न आफ्नो व्यक्तिगत सरसफाईंमा ध्यान दिन, हातमिलाएर अभिभावदन गर्नुको साटो नमस्कार गर्न, साबुन पानीले हात धुन, मास्कको प्रयोग गर्न पनि नगरपालिकाको अनुरोध छ ।
२ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया