१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

७ महिनामा कपिलवस्तुमा ९७ सवारी दुर्घटना, ३२ जनाको मृत्यु



दीपा महत, चारनम्बर ।
कपिलवस्तुमा ७ महिनाको अवधीमा ९७ सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष ०७६ श्रावण देखि माघ महिनासम्म ९७ सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । सबै भन्दा बढी भदौ र कार्तिक महिनामा ६÷६ जनाले ज्यान गुमाएका छन भने श्रावणमा ५ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।
चालु आर्थिक वर्षको असोज, मंसिर र माघ महिनामा पनि ४÷४ जनाको ज्यान गएको छ । पौष महिनामा पनि विभिन्न सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा सबै भन्दा बढी पुरुषले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यलय गोरुसिंगेको प्रमुख टक्कर स्वाँरले जानकारी दिनुभयो ।
समग्र दुर्घटना मध्ये २३ पुरुषको मृत्युभएको छ भने ६ महिला र ३ बालबालिका गरी ३२ जनाको ज्यान गएको छ । गत आर्थिक वर्षको माघ महिनासम्म सवारी दुर्घटनामा परी ४४ जनाले ज्यान गुमाएका थिए । जुन यस वर्षको संख्या भन्दा बढी हो । यस वर्ष गतको वर्षको तुलनामा सवारी दुर्घटनामा केहि कमी आएको प्रमुख स्वाँरले बताउनुभयो ।
गत वर्ष सबैभन्दा बढी असोजमा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए । यस्तै चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न सवारी दुर्घटनामा ७५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमा ५१ पुरुष, १४ जना महिला र १० बालबालिका रहेका छन् भने १५ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेमा पुरुष र बालबालिको संख्या बराबर ७÷७ रहेको छ भने १ महिला सामान्य घाइते भएकी छन् ।
कपिलवस्तुमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । यस आर्थिक वर्षको ७ महिनामा मात्रै ४९ मोटरसाइकल दुर्घटना भएका छन् । सबैभन्दा बढी भदौ र माग महिनामा ९÷९ वटा मोटरसाइकल दुर्घटना भएका छन् ।
त्यसैगरी श्रावण, असोज, कार्तिक र मंसिरमा ७÷७ वटा मोटरसाइकल दुर्घटना भएका छन् भने सबै भन्दा कम पौष महिनामा ३ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यसैगरी बस र ट्याक्टर ११÷११ वटा दुर्घटना भएका छन् भने ८ वटा कार तथा जीप दुर्घटना भएका छन् । अन्य सवारीमा ट्रक ट्याङ्कर ४, टिप्पर २, माइक्रो १, अटो ३ र अन्य ८ वटा सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरी प्रमुख टक्कर स्वाँरले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २ सय ४२ सवारी दुर्घटना भएका थिए भने दुर्घनामामा ७९ जनाले ज्यान गुमाएका थिए यस्तै १ सय ५८ जना गम्भीर घाइते भएका थिए । सवारी दुर्घटनामा परी ६७ जना सामान्य घाइते भएका थिए । गत वर्ष पनि सबैभन्दा बढी मोटरसाइकलनै दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । गत वर्ष १ सय १४ मोटरसाइकल दुर्घटना भएका थिए ।
सवारी साधनको चाप बढ्नु, पूर्व पश्चिम राजमार्ग साँघुरो हुनु र तीव्र गतिमा सवारी हकाउँदा दुर्घटनामा बृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि विद्यालय तथा चालकको स्तरमा विभिन्न सचेतना कार्यक्रम सञ्चालन भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ४ : ४८ बजे