बाबुराम रायमाझी, जितपुर ।
पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई–डोहोटे सडकको काम कछुवा गतिमा अगाडी बढेको छ । एकै वर्षमा सक्ने गरी जिम्मेवारी पाएको भिमेश्वर कन्सट्रक्सनले बाटो विस्तारको काम सुस्त गतिमा अगाडी बढाएको हो ।
चालु आवको ८ महिना वितिसक्दा यो सडकको काम जम्मा ३५ प्रतिशत सकिएको छ । यो तथ्यले सडकको काम सुस्त गतिमा अगाडी बढेको देखाउँछ ।
लामो समयदेखि नाम चलेको बनगाई–डोहोटे सडकखण्ड पक्की बन्न थालेपछि कपिलवस्तुको भलवाड र अर्घाखाँचीका शीतगंगाबासी खुसी देखिएका छन् । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मेको सास्ती खेपेका सडकखण्ड छेउछाउमा बसेका स्थानीयबासी सडक पक्की बन्न थालेपछि अझ बढी खुसी देखिएका हुन् ।
१३ कि.मि. रहेको बनगाई–डोहोटे सडकखण्ड प्रदेश र केन्द्र सरकारको बजेटबाट कालोपत्रे हुन लागेको हो । सडकको दायाँ वायाँ ११ मिटर चौडा रहने र ७ मिटर कालोपत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ ।
कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई–डोहोटे सडकखण्ड पक्की बनेसंगै गोरुसिंगे, पथ्थरकोट, पिपरापानी हुँदै सन्धिखर्क पुग्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । यो बाटो निकै घुमाउरो पर्छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरुको लागि पनि यो सडक सस्तो र सुलभ हुने अपेक्षा छ ।
यो सडक बनेपछि भारतको खुनुवा नाका हुँदै तिलौराकोट, जगदीशपुर, लक्ष्मणघाट, कपिलधाम हुँदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने जाने पर्यटकलाई सहजता आउने बाणगंगा ९ का वडा अध्यक्ष धु्रव वेल्वासेले विश्वास व्यक्त गर्नुभयो ।
ठेकेदारलाई समयमै काम सम्पन्न गर्न स्थानीयवासी, राजनीतिक दल लगायत सबैले आग्रह गरेका छन ।
२ चैत्र २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया