१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाविरुद्ध एक हुन अपिल गर्दै मायादेवीकर्मीले सुरु गरे सचेतना अभियान



मायादेवी अनलाइन, चारनम्बर ।
विश्वब्यापी रुपमा महामारी रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध कपिलवस्तुमा सचेतना कार्यक्रम सुरु भएको छ । बाणगंगा नपा ४ चारनम्बर सिद्धिपुरमा रहेको मायादेवी मिडिया ग्रुप, मायादेवी अनलाइन डटकम र सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको आयोजनामा बाणगंगामा पहिलोपटक कोरोनाविरुद्ध सचेतना अभियान सुरु भएको हो ।
बैरियाबाट सुरु भएको सचेतना र्याली वैरिया बजार परिक्रमा गरी चार नम्बरमा आई सभामा परिणत भएको थियो । र्यालीमा सहभागी मायादेवीकर्मीले कोरोनाका लक्षण र यसबाट बच्न सक्ने उपाय र पूर्व सावधानीका विषयमा लेखिएका प्ले कार्ड बोकेका थिए । र्यालीपछि चार नम्बर चोकमा आयोजित सभामा बोल्ने बक्ताले कोरोनाविरुद्ध एक जुट भएर मानवीय सेवामा लाग्न अनुरोध गरेका छन् ।


सि एण्ड सि हस्पिटलका डाक्टर संघर्ष थापाले नेपालमा अझै त्रसित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो । विश्वव्यापी रुपमा कोरोना प्रकोपको रुपमा फैलिए पनि नेपालमा अझै आइनसकेकाले आत्तिनु पर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
हावा र सम्पर्कबाट यो रोग छिटै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने भएकाले धेरै भीँडभाडमा नजान, सरसफाईमा ध्यान दिन, जनावरको सम्पर्कबाट टाढा रहन, साबुन पानीले हात धुन उहाँले अनुरोध गर्नुभयो । केही मिडियाले यसबारे अनावश्यक सन्त्रास सिर्जना गरेकाले सही समाचारको मात्र विश्वास गर्न उहाँको अनुरोध छ । बाणगंगामा धेरै संघ संस्था भए पनि मायादेवी रेडियो र अनलाइनले यो अभियान सुरु गरेर राम्रो सन्देश दिएको उहाँले बताउनु भयो ।
चीनबाट फैलिएको कोरोना अहिले छिमेकी मुलुक भारतसहित बिभिन्न देशमा प्रकोपको रुपमा रहेकाले त्यसविरुद्ध सचेतना जगाउन कार्यक्रम सुरु गरिएको ग्रुपका अध्यक्ष हरि अधिकारीले बताउनु भयो । देशभर बिभिन्न चेतनामुलक कार्यक्रम भइरहेका बेला यसविरुद्ध सबैलाई एकतावद्ध गर्न मिडियाले यो पहल गरेको उहाँले स्पष्ट पार्नुभयो ।


कार्यक्रममा बोल्दै मायादेवी रेडियोका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानले यो अभियान प्रतिकात्मक भएको बताउनुभयो । यस विरुद्ध सबैले सतर्कता अपनाउन सके सजिलै बच्न सकिने बताउँदै उहाँले यो अभियान अब नगरका बिभिन्न स्थानमा पुग्ने जानकारी दिनुभयो । कार्यक्रममा सि एण्ड सि अस्पतालका प्रबन्धक गोपाल घिमिरे, मायादेवी रेडियोका कार्यकारी निर्देशक थानेश्वर अधिकारी, निर्देशक दीपक अनुरागी लगायत दुई दर्जन बढी मायादेवीकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६ शनिबार ००:००  ७ : ०५ बजे