१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

असिनासहितको बर्षाले धनकौलीको तरकारी खेतीमा असर, नगर प्रमुख श्रेष्ठ किसानको खेतमा



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार दिउँसोपख आएको असिनासहितको भारी बर्षाले कपिलवस्तुका किसान मारमा परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १० मा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसान असिनासहितको बर्षाले बढी मारमा परेका हुन ।
जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने धनकौलीमा असिनासहितको बर्षाले लाखौं मूल्य बराबरको तरकारीलाई क्षति गरेको अगुवा किसान बइराइच केवटले बताउनुभयो । उहाँले लगाउँदै आउनुभएको दुई विगाह जग्गामा लगाएको तरकारी खेतीमा नराम्रोसंग असिनापानीले असर पारेको छ ।
अहिले परेको बर्षाले बैशाख, जेठ, असारका लागि भनेर गरिएको तरकारी खेतीमा बढी क्षति गरेको हो । यो सिजनको तरकारीमा असिनाले कम क्षति गरेपनि गर्मीयामका लागि लगाएको तरकारीमा बढी क्षति गरेको केवटले बताउनुभयो ।
किसानले लगाएको तरकारी बालीलाई असिनापानीले क्षति पुराएपछि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ र वडा नं. ४ का वडाध्यक्ष पवनकुमार थारु शनिबार धनकौलीमा पुग्नुभएको छ ।
तरकारी खेतीको अनुगमन पछि मायादेवीसंग कुराकानीको क्रममा नगर प्रमुख श्रेष्ठले अहिले परिरहेको बर्षाले किसान धैरै मर्कामा परेको बताउनुभयो । यो बर्षको जाडो महिनामा शीतलहरका कारण आलु, टमाटर, बन्दा र फूलगोपीमा असर पुगेको र अहिले गर्मीयामका लागि भनेर गरिएको तरकारीका बेर्नामा बढी असर पुगेको उहाँले बताउनुभयो । पछिल्लो समय मौसममा आइरहेको प्रतिकुलताले सबैभन्दा बढी मारमा किसान परेको भन्दै उहाँले मौसमसंग जुध्नु बाहेक अर्को विकल्प नभएको बताउनुभयो । शुक्रबार आएको असिनासहितको बर्षाले गहुँ, जौ, दलहन र तेलहन बालिमा पनि बढी असर गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७६ शनिबार ००:००  ६ : ४१ बजे