९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

‘गाउँ गाउँ पस्दै नेकपा कपिलवस्तुका नेता’



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले शनिबार चैत्र १ गतेदेखि तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय तौलिहवामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अभियानबारे जानकारी दिइएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपालको आधार, सुदृढ पार्टी, अनुशासन र लोकप्रिय सरकार’ नारा दिइएको अभियानमा जिल्लाका मुख्य मुख्य केन्द्र, वडा र टोल गाउँसम्म पुग्ने उद्देश्य राखिएको छ ।
(नेकपा)ले चलाउने अभियान पश्चात पारदर्शी, सादा एंव जवाफदेही जीवनशैली, श्रमप्रतिको सम्मान र सहभागीताको विकास गर्ने, जनशैली र कमरेडली भावनाको विकास हुने अपेक्षा छ । यस्तै दुई पार्टी बीचको ऐतिहासिक एकताको तत्कालिन एंव दीर्घकालिन महत्वपूर्ण समस्त पार्टी पक्ति र आम जनसमुदाय बीच स्थापित गर्ने घरदैलो गरी संगठित सदस्यता नविकरण गर्ने पनि अभियानको उद्धेश्य राखिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो ।
पार्टीमा पछिल्लो समय झागिएको गुटबन्दीपूर्ण क्रियाकलापलाई निरुत्साहित गरी पार्टी नीति, सिद्धान्तमा दृढ अनुशासन हुन प्रशिक्षित गर्ने पनि अभियानको लक्ष्य रहेको जिल्ला अध्यक्ष पोख्रेलले बताउनुभयो ।
चैत्र १ गते देखि सञ्चालन हुने अभियान अन्तर्गत सुरुवाती एक महिना सदस्यता नविकरण, जनसंगठनहरुको वडा तहसम्म कमिटी निर्माण, बाँकी टोलहरुमा पार्टी कमिटी गठन गर्ने, पार्टीबाट निर्वाचित वडा समितिहरुको भेला गरी विकास योजनाहरु संकलन गर्ने, पार्टी प्रवेश अभियान चलाउने, पार्टी भित्रका आन्तरिक समस्या सुल्झाउने, शिक्षक, प्रध्यापक तथा बुद्धिजीविलाई अभियानमा सरिक गराउने, स्थानीय तह संयन्त्रको बैठक बसी योजना बनाउने र कोरोना भाइरसबाट बच्न बचाउन सचेतना प्रदान गर्ने रहेको छ ।
आगामी बैशाख देखि घरदैलो पदयात्रा, टोलभेला, सभा, जनवर्गीय संगठन गठन, पार्टी प्रवेश अभियान सञ्चालन, नयाँ पार्टी, सदस्यता फारम भराउने लगायत रहेको पार्टी सचिव रामचन्द्र शाहले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपाका स्थायी समिती सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनालले कपिलवस्तुमा सञ्चालन हुने तीन महिने अभियानले जनतामा सकरात्मक छाप पार्ने विश्वास व्यक्त गर्नुभयो । पार्टी र सरकारले गरेका कामको बारेमा आम नागरिकलाई सुसुचित गर्नुपर्ने बताउँदै यसको लागि तीन महिने अभियान प्रभावकारी भएको बताउनुभयो । कपिलवस्तुको विकासले दु्रत गतिमा प्रगति हासिल गरेको भन्दै यसको प्रचार गाउँ गाउँमा पुर्याउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६ शुक्रबार ००:००  ६ : ४० बजे