९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सि एण्ड सि हस्पिटल चार नम्बरलाई ‘बर्थिङ सेन्टर’को लाइसेन्स,निशुल्क सुत्केरी सेवा सुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ चार नम्बरमा रहेको सि एण्ड सि हस्पिटलमा बर्थिङ सेवा सुरु भएको छ । नेपाल सरकारको स्वास्थ्य नीति अनुसार बाणगंगा नगरपालिकाको स्विकृतिमा हस्पिटलमा बुधबारबाट निशुल्क बर्थिङ सेवा सुरु भएको हो । यो सेवा सुरु भएसंगै अब सो हस्पिटलमा प्रसुति गराएबापत एक रुपैयाँ पनि लाग्ने छैन ।
सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै अस्पत्तालले गुणस्तरीय र विश्वासिलो प्रसुति सेवा दिनेमा विश्वास ब्यक्त गर्नुभयो । नगरपालिकाका बिभिन्न स्थानमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टर संचालनमा आएकाले त्यसबाट अधिकतम फाइदा लिन नगर प्रमुख थारुले सबैलाई आग्रह गर्नुभयो । नीजि स्वास्थ्य संस्थाको रुपमा सि एण्ड सि अस्पत्ताल रहे पनि उसले धेरै स्थानमा सामाजिक र मानवीय सेवा भावले स्वास्थ्य सेवा प्रदान गरेकाले बर्थिङ सेन्टर संचालनको अनुमति दिएको थारुले बताउनु भयो । अस्पत्तालका प्रबन्धक गोपाल घिमिरेले आफुहरुले प्रदान गर्ने प्रसुति सेवामा ढुक्क रहन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो “सरकारका सबै नीति नियमहरु पुरा गरी आवश्यकीय पूर्वाधार तयारीपछि नगरपालिकाले बर्थिङ सेन्टर संचालनको अनुमति दिएको छ । यसलाई सााच्चिकै उदाहरणिय बनाउने लक्ष्यमा हामी छौँ । अब कुनै आमाले राम्रो प्रसुति सेवा नपाएर दुख पाउनु पर्ने या मृत्युवरण गर्नु पर्ने अवस्था आउने छैन । यसमा अस्पत्ताल कटिवद्ध छ ।” विशेषज्ञ सेवा प्रदान गर्ने जिल्लाकै पहिलो नीजि स्वास्थ्य संस्था सि एण्ड सि भएकाले क्रिटिकल बाहेक अरु उपचारको लागि बुटवल र काठमाण्डौँ धाउनु पर्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।


वरिष्ठ फिजिसियन तथा अस्पत्तालका मेडिकल सुपरीडेण्डेन्ट डा. प्रकाश पुनले अस्पत्तालाई विश्वास गर्न अनुरोध गर्नुभयो । बुटवलबाट पश्चिमतिरको सबैभन्दा सुविधा सम्पन्न हस्पिटल सि एण्ड सि नै भएकाले ढुक्क भएर आउन उहाँको आग्रह छ । सुरक्षित आमा कार्यक्रम अन्तर्गत अस्पत्तालले बर्थिङ सेन्टर संचालन गर्न पाउँदा आफूहरु धेरै खुसी भएको भन्दै सेवामा ढुक्क रहन सबैलाई आश्वस्त पार्नुभयो । अस्पत्तालमा तालिम प्राप्त र दक्षता हासिल गरेका नर्सहरुले प्रसुति गराउने कुरा पनि उहाँले बताउनु भयो ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले गुणस्तरीय सेवा दिएर सबै आमाहरुको मन जित्न आग्रह गर्नुभयो । बर्थिङ सेन्टर संचालनको अनुमति सामान्य कुरा नभएको भन्दै यसमा अवसर र चुनैति दुवै रहेको उहाँको भनाई छ । उहाँले नगरका कुनै पनि सवास्थ्य संस्थामा औषधीको अभाव नरहेको पनि बताउनु भयो । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष तथा प्रवक्ता विष्णु पोडेल, वडा नम्बर १ को वडाध्यक्ष बाल कुमारी पन्त, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल लगायतले बोल्नु भएको थियो । संचारकर्मी हरि आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, बाणगंगा नगरका स्वास्थ्य अधिकृत भक्ति पाण्डे कान्तिपुर टिभीका विकास बंजाडे, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक तथा रेडियो मायादेवीका स्टेसन मेनेजर चन्द्रकान्त न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६ बिहिबार ००:००  ४ : ३६ बजे