काठमाडौं ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन् ।
अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनुपर्ने भएको छ । तालिबानले आफ्नो नियन्त्रणमा रहेका एक हजार सरकारी व्यक्ति रिहा गर्न सहमति जनाइसकेको छ ।
अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले विद्रोही कैदी र तालिबानले आफ्नो नियन्त्रणमा रहेका सरकारी व्यक्ति छाड्ने सहमति पनि भएको थियो ।
सुरुमा अफगान राष्ट्रपति घानीले विद्रोही कैदी नछाड्ने बताएको भए पनि दोस्रो कार्यकालका लागि सपथ लिएपछि कैदी छाड्न सहमति जनाएका हुन् । सम्झौताअनुसार अमेरिकाले मङ्गलबारदेखि नै आफ्ना सैनिका फिर्ता लैजाने काम सुरु गरेको छ ।
अफगान सरकार र तालिबानबीच कैदीबन्दी रिहाइको लागि निरन्तर वार्ता हुने र वार्तामा प्रगति भएमा हरेक दुई हप्तामा पाँच सयलाई रिहा गर्ने अफगान सरकारले जनाएको छ । पछिल्ला प्रगतिहरुले अफगानिस्तानमा लामो समय चलेको युद्ध शान्तिमा परिणत हुने आशा गरिएको छ ।
२८ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया