मायादेवी अनलाइन, जितपुर ।
कोरोना भाइरसको डरले यसपालि फागुको व्यापार प्रभावित छ । भीडभाडमा संक्रमण बढ्न सक्ने भन्दै सरकारले फागु खेल्दा सावधानी अपनाउन आग्रह गरिसकेको छ । यसले फागुको रमझम सुस्त देखिन्छ र व्यापार पनि ।
बजारमा हामी रंग, फागुका टिसर्ट, पिच्कारी बेचिरहेको देख्न सक्छौं, तर बिक्री सुस्त रहेको सम्बन्धित बिक्रेता बताउँछन् । ‘एक साता भयो होलीको सामान बेच्न राखेको, तर आजसम्म व्यापार राम्रोसँग भएको छैन,’ गजेहडाका व्यापारी दयाराम भुसालले भने, ’यो वर्ष पोहोरजस्तो बिक्री छैन । गत वर्षको तुलनामा १० प्रतिशत पनि ब्यापार नभएको उनले बताए । कोरोनाको त्रासका कारण ब्यापार नभएको उहाँले बताउनुभयो ।
पछिल्लो समय सेतो टिसर्ट लगाएर फागु खेल्ने चलन बढ्दो थियो तर यस वर्ष भने सेता टिसर्ट होलीका टिर्सट बिक्रि नभएको आचार्य फेन्सीका प्रोप्राइटर सालिकराम आचार्यले बताए । गतवर्ष माग भन्दा बढी बिक्रिहुने गरेको भन्दै यस वर्ष भने आधा पनि विक्रि नभएको उनको भनाई छ ।
सेता टिसर्ट पहिले फुटपाथमा धेरै देखिन्थ्यो, अहिले ठूला फेन्सीहरूले पनि प्राथमिकतासाथ राख्न थालेका छन् ।फागुको माहोल नै सेलाएपछि टिसर्टको व्यापार पनि घटेको व्यापारी बताउँछन् । कपिलवस्तुको व्यस्त बजार जितपुरमै ग्राहकहरूको चहलपहल देखिन्थेन । फाट्टफुट्ट मात्र सामान बिक्री भइरहेको देखिन्थ्यो । कोरोना प्रभावकै कारण पहिले चीनबाट ल्याउने गरेको सामान अहिले भारतबाट ल्याएकाले महंगिएको पनि गुनासो थियो ।
प्रतिक्रिया