९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विश्वभर कोरोना तीव्र गतिमा फैलँदै, इटलीमा देशभरिका नाका बन्द



काठमाण्डौ । कोभिड–१९, कोरोना भाइरस० को सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको छ । सङ्क्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन र समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको सङ्क्रमण रोक्न सरकार लागिपरेको बताएका छन् ।इटलीमा गएको २४ घण्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ६३ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ ।

चीनको वुहानबाट सुरु भएर एक सय १३ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । तीमध्ये ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।चीनमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अहिले अन्य देशमा सङ्क्रमण फैलने क्रम बढेको छ । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, जर्मनी, बेलायत, जापानलगायतका देशमा सङ्क्रमण फैलने क्रम बढिरहेको बीबीसीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै इटलीका सबै खेलकुद गतिविधि स्थगित गरिएको छ । प्रधानमन्त्री ज्युसेप कोन्टेले आउँदो अप्रिल ३ गतेसम्मका खेलकुद गतिविधि स्थगित गरेको घोषणा गरे । भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएमा समय लम्बिन सक्ने बताइएको छ ।

इटालीका सबै खेलकुद गतिविधिहरु स्थगित गरिए पनि क्लबले र देशले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने नियमित समयमै सञ्चालन हुनेछ । प्रधानमन्त्री कोन्टेले इटलीमा सभा सम्मेलनमा पनि प्रतिबन्धको घोषणा गरेका छन् । यसअघि इटलीको ओलम्पिक कमिटीले सबै खेलकुद कार्यक्रमहरु स्थगित गर्न सुझाव दिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  ७ : १२ बजे