पाल्पा ।
रामपुर नगरपालिका–३, रजघरामा महिलालाई जबरजस्ती करणी प्रयास आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले महिलाको उजुरीको आधारमा ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरेको हो । स्याङ्जाको चापाकोट नगरपालिका, केवरेभन्ज्याङ घर भई आफन्तको घर जाने क्रममा सानीअमराई जंगलमा बलात्कार प्रयासमा परेको ती महिलाले बताएकी हुन् ।
तीन सन्तानकी आमामाथि जबरजस्ती करणीको प्रयास भएको प्रहरीले पुष्टि गरेको छ । सानीअमराई जंगलमा अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै गरेकी ती महिलालाई स्थानीयले उद्धार गरेका थिए । प्रहरीलाई खबर गरेपछि मात्रै घटना सार्वजनिक भएको हो । आफन्तको बसेर श्रीमान्सँगै मजदुरी गर्दै आएकी ती महिला घटना भएको समयमा एक्लै थिइन् । उनी रजघराबाट बेझाड बजार जान हिँडेको थिइन् । स्थानीयका अनुसार बलात्कार प्रयास गर्ने पाण्डेयले महिलालाई ‘अगाडिबाट टेम्पो पाइन्छ, हिँड्दै जाउँ’ भन्दै लिएर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बाटोमा रुँदै अर्धनग्न रहेकी महिला चिच्याएको देखेपछि उद्धार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताए । घटनास्थलमा महिलाको भित्री वस्त्र र सुरुवाल समेत फ्याँकिएको अवस्थामा भेटिएकाले बलात्कार प्रयास गरेको पुष्टि हुने जिल्ला प्रहरी प्रमुख दीपेन्द्र जीसीले बताए । ‘स्थानीयले खबर गरेलगत्तै प्रहरी पुगेर घटनास्थलको अवस्थाबारे बुझेको हो,’ प्रहरी उपरीक्षक जीसीले भने, ‘त्यसपछि आरोपीलाई पक्राउ गरी तानसेन ल्याइएको छ ।’ घटनास्थल सदरमुकामदेखि ७० किलोमिटर टाढा पर्छ ।
बलात्कार प्रयासमा परेकी महिलालाई स्वास्थ्य जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाको प्रमाण संकलन एवं स्वास्थ्य परीक्षणको कार्य सकिएकाले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाइसकेको उनले बताए । उता घटनाका विषयमा स्थानीयले आइतबार बेलुकी ६ बजे नै इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भीमबहादुर कार्कीलाई जानकारी दिएका थिए । तर २० मिनेटको दूरीमा भएको घटनामा प्रहरी भने ८ बजे मात्र घटनास्थल पुगेको भन्दै स्थानीयले प्रहरीप्रति आक्रोशित भएका थिए ।
२६ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया