मायादेवी अनलाइन, चन्द्रौटा ।
गर्मीको शुरुवातसँगै तराईमा हावाहुरी चल्न शुरु भएको छ । हावाहुरी चल्न शुरु गरेपछि यहाँ आगलागीका घटना बढ्ने गर्दछ । आगलागीले वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको विभिन्न कालखण्डको तथ्यांकले पुष्टी गर्दछ ।
हावाहुरीसँगै यस्तै घटना घटेको छ कपिलवस्तुको शिवराज नगरपालिका ६, पिपरीमा । आइतबार दिउँसो यहाँको एक घरमा आगलागी भएको छ । घरमा कोही नभएको अवस्थामा पिपरीस्थित खुशीराम थारुको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको खाद्यान्न र लत्ताकपडा जलेको पीडित दशनी थारुले बताइन् । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ । एउटै घरमा उत्तरपट्टि टिनले छाएको र दक्षिणपट्टि खरले छाएको थियो । आगलागीबाट दक्षिण पूर्वको पाखो जलेको छ । आगलागीबाट अहिले उनीहरु खुल्ला आकाशमा बस्न बाध्य भएका छन् ।
बुद्ध सिमेन्ट फेक्ट्रीमा भान्सेको काम गर्दै आएकी करीब ६० वर्षीय दशनी आफू काममा गएको र बुढा बाख्रा चराउन गएको बेला यस्तो घटना भएको बताइन् । आर्थिक अवस्था निकै दयनीय रहेको बृद्धबृद्धालाई दुई नाति र एक नातिनीको पालनपोषण गर्ने जिम्मेवारी समेत थपिएको छ । आगलागीबाट कक्षा ७ मा पढ्दै आएका दुई नाति नातिनाका शैक्षिक सामग्री समेत जलेपछि नजिकै आएको वार्षिक परीक्षा समेत प्रभावित हुने देखिन्छ ।
यसैबीच व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्षसहितको टोली घटनास्थल पुगी अनुगमन गरेको थियो । अनुगमनपछि व्यापार संघका अध्यक्ष पोखरेलले तत्काल राहतको लागि पहल गर्ने पीडितलाई आश्वासन दिएका थिए ।
२५ फाल्गुन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया