९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिक्षा बलियो भए अन्य क्षेत्रको विकासमा स्वतः तीव्रता आउँछः अध्यक्ष थापा



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको दूधाधारी माध्यमिक विद्यालयमा दुई कोठे भवनको शिलन्यास भएको छ । गाउँपालिकाको वडा नंं.१ गुगौलीमा अवस्थित दूधाधारी माध्यमिक विद्यालय भवनको आइतवार संयुक्त रुपमा शिलन्यास भएको हो ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रशासकीय अधिकृत गोविन्द भट्टराईद्धारा संयुक्त रुपमा विद्यालयको शिलन्यास गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षा, स्वास्थ्य र कृषि विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताउनु भएको छ । त्यसमा पनि शिक्षालाई पहिलो प्राथमिकता दिएको अध्यक्ष थापाले बताउनुभयो ।
हरेक क्षेत्रको विकासका लागि शिक्षा नभई नहुने बताउँदै शिक्षा बिना अन्य क्षेत्रको विकास हुन नसक्ने कुरामा जोड दिनुभयो । ‘हामीले शिक्षा जगतलाई बलियो बनाउन सक्यो भने अन्य विकासको क्षेत्रले स्वतः तीव्र रुपमा विकास हुँदै जान्छ, थापाले भन्नुभयो ।’
यस्तै गाउँपालिकाको हरेक विद्यालयमा भौतिक पूर्वाधारको अभाव हुन नदिने र आवश्यकता अनुसार उपलब्ध गराउँदै जाने अध्यक्ष थापाले बताउनुभयो ।
उक्त भवन गाउँपालिकाको १६ लाख रुपियाँको सहयोगमा भवन निमार्ण हुन लागेको विद्यालय जनाएको छ । कार्यक्रममा १ नं. का वडाध्यक्ष इन्नर थारु, विद्यालय व्यवस्थापन समितिका सदस्य रामजनम यादव, भुलन शाह, प्रधानाध्यापक सुग्र्रीव प्रसाद कोरी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ७ : ३० बजे