राम अवतार चौधरी, चन्द्रौटा ।
समयानुसारको बजारमा माग र उचित मूल्य भएको वस्तु सीप सिकेर उत्पादन गर्न आवश्यक रहेको शिवराज नगर उप-प्रमुख शिवकुमारी थारुले बताएकी छिन् । कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा मिलिजुली महिला विकास बचत तथा ऋण सहकारीद्वारा आइतबार आयोजित कार्यक्रममा उप-प्रमुख थारुले यस्तो बताएकी हुन् ।
महिलाहरूका लागि कढाई, मखमल र ढाकाको जुत्ता बनाउने तालिम कार्यक्रमलाई समुद्घाटन गर्दै चन्द्रौटा एक व्यापारीक नगरीका साथै महत्वपूर्ण स्थानको रूपमा विकास भएको बताउँदै छिमेकी देश भारतसँग जोडिएको कृष्णनगर नाका नजिकै भएकोले आम मानिसहरुले स्थानीय स्तरमा उत्पादन भएको वस्तु प्रयोग गर्न सक्ने उनले जिकिर गरिन् ।
आफ्नै गाउँ-ठाउँमा उत्पादन भएका सामग्री प्रयोग गर्न पाउँदा गर्भ लाग्ने उनले जनाइन । तालिमबाट महिलाहरू सीप सिकेर आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै यहाँ उत्पादन भएका वस्तुहरू स्थानीय व्यापारीले पनि बजारिकरण गर्न सहयोग गर्ने उप-प्रमुख थारुले विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘सिकेका सिपलाई व्यवहारमा उतार्न समेत जरुरी छ, बीचबीचमा तालिमको अनुगमन समेत गर्छौ ।’
सहज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कल्लु थारुले बोल्दै सहकारीले हरेक समुदायका मानिसहरूसँग हातेमालो गरेर बचत र ऋण लिने दिने कार्य मात्र नगरेर सिपमुलक तालिम गराएर रोजगारीका अवसरहरू सिर्जना गर्ने काम गरेको बताए ।
“सीप सिकौँ स्वरोजगार बनौँ“ भन्ने मुल उद्देश्यका साथ २०७१ सालमा स्थापना भई निरन्तर तालिमको आयोजना गरि यस स्थान सम्म आएको जनाउँदै प्रशिक्षक रूपमा उमा रास्कोटी रहेको र महिलाहरूका कढाई, मखमल र ढाकाको जुत्ता बनाउने तालिम लगातार १५ दिनसम्म चल्ने सहकारीले जनाएको छ । तालिममा २१ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया