काठमाडौं ।
एक वर्षका लागि स्वयमसेवक शिक्षक बन्न १२ हजार जनाभन्दा बढीले निवेदन दिएका छन् । शैक्षिक सत्र २०७७ का लागि वैशाखदेखि चैतसम्म सरकारी विद्यालयमा पढाउन सरकारले १० दिने सूचना निकालेर आवेदन खुलाएको थियो ।
आइतबारसम्म १२ हजार जनाभन्दा बढीले अनलाइनबाट आवेदन दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले फागुन १६ गते एक हजार पाँच सय स्वयमसेवक माग गर्दै सूचना निकालेको थियो । ‘आइतबारसम्म १२ हजार जनाभन्दा बढीको निवेदन आइसक्यो । संख्या अझै बढ्छ,’ केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले भने, ‘आज निवेदन फारम भर्ने अन्तिम दिन हो ।’
केन्द्रले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकबाट निवेदन आह्वान गरेको थियो। शिक्षक संख्या कम भएका सरकारी विद्यालयमा पढाउन अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरूले निवेदन दिएका हुन् ।
‘स्वयमसेवक शिक्षकका लागि (शिक्षण अनुमति पत्र) लाइसेन्स नचाहिने भएर पनि धेरैको आकर्षण भएको हुनसक्छ,’ उनले भने ।
निवेदन परेकामध्ये उनीहरूले पेश गरेका कागजपत्र हेरेर शिक्षक छनौट थपलियाले बताए। केन्द्र शिक्षक छनौटको आधार उनीहरूले हासिल गरेको नम्बरलाई लिने भएको छ ।
‘जसको सर्टि्फिकेटमा राम्रो नम्बर छ उसैलाई प्राथमिकता दिइन्छ,’ थपलियाले भने, ‘छनौटमा परेका शिक्षकको नाम स्थानीय तह र विद्यालयमा पढाउँछौं । ’
केन्द्रले छानेर पठाएका स्वयमसेवक शिक्षकलाई विद्यालयले नियुक्ति दिएर वैशाखदेखि काममा लगाउनुपर्ने हुन्छ । देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ । ‘चिनौँ आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो ।
स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्य्विधि बनाइसकेको छ । सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ । भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ । स्नातकोत्तर पढेकाको तलब केही धेरै छ । उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार तलब पाउँछन् । थपलियाका अनुसार चैतभित्र स्थानीय तहमा शिक्षकको विवरण पठाउने काम सकिन्छ । –सेतोपाटीबाट
२५ फाल्गुन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया