९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सडक सञ्जालले जोडिदै देशकै ठूलो ‘शीतगंगा नगरपालिका’



मायादेवी अनलाइन, शीतगंगा (अर्घाखाँची)
भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिका पर्छ शीतगंगा । अर्घाखाँची जिल्लाको झण्डै आधा क्षेत्र यसै नगरपालिकाले आगटेको छ । चुरे क्षेत्र यसको भौगोलिक विशेषता हो । दक्षिणमा तराईको सीमासंग जोडिएको चुरे क्षेत्रमा रहेपनि विकासका दृष्टिले यो कर्णाली जस्तै छ । विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युतजस्ता जनताका आधारभूत आवश्यकता पूरा भएकोलाई नगरपालिकाका रुपमा लिने गरिएपनि संघीयता पश्चात निर्माण भएका कतिपय नगरपालिकामा यी पूर्वाधार भेट्न मुस्किलै छ । त्यसको ज्वलन्त उदाहरण अन्तरगत पर्छ शीतगंगा नगरपालिका ।
तर, पछिल्लो समय नगरपालिकामा सडक निर्माणका काम धमाधम निर्माण भैरहँदा अबका केही बर्षमा शीतगंगाको मुहार फेरिनेमा आशाबादी हुन सकिने स्थिती छ । नगरपालिकालाई अहिले सडक सञ्जालबाट जोड्न केन्द्र, प्रदेश र स्थानीय सरकार लागि परेका छन् । चालु आवमा केन्द्र सरकारबाट तीन योजनाका लागि बजेट प्राप्त गर्न सफल शीतगंगा प्रदेश सरकारको पनि प्राथमिकतामा परेको छ ।
अर्घाखाँचीमै सबैभन्दा पछि परेको साविक सिद्र्धारा गाविसमा अहिले सडक सञ्जाल पुगिसकेको छ । चाक्ला–सिद्धार्थ सडकखण्डको ११ किलोमिटर सडक अहिले धमाधम पक्की बन्दै छ । भुकुम्प पुनःनिर्माण प्राधिकरणको बजेटबाट १० मिटरको पक्की सडक अहिले निर्माणको चरणमा छ । २८ करोड बजेटबाट निर्माण थालिको यो सडकखण्ड यो बर्ष हर्रे–बर्रेसम्म मात्र पक्की बन्नेछ । दाङको भालुवाङसम्म जोड्ने यो सडक पक्की बन्न सके तीव्र बसाईसराईको दर रोकिने विश्वास छ । कृषिको उर्वराभूमिका रुपमा लिइने सिद्धार्थमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र खानेपानीको अभावमा मानववस्ती नासिदैँ जान थालेको अवस्थामा यो सडक विकासको महत्वपूर्ण साझेदार बन्न सक्ने अपेक्षा छ ।
अमराई–जुकेना–ऐरावती पतञ्जली मार्ग पनि शीतगंगाको महत्वपूर्ण सडक हो । साविक ठाडा गाविससंगै जुकेना र जुलुके हुँदै प्यूठानको सिमासंग यो सडक प्रत्यक्ष रुपमा जोडिन्छ । २९ किलोमिटरको यो सडकखण्ड अन्तरगत सीतखोलामा पक्की पूल बनिसकेको छ । प्रदेशको समपुरक बजेटबाट अहिले नगरपालिकाले सडकको गाभ्रेल र नाली निर्माणको काम धमाधम गरिरहेको छ । १ करोड ८० लाखको टेण्डरबाट अहिले काम भैरहेको नगर प्रमुख सूर्य प्रसाद अधिकारीले मायादेवी अनलाइनलाई बताउनुभयो ।
कपिलवस्तुसंग सिधा सम्पर्क राख्ने अर्को महत्वपूर्ण सडक हो भेडामार–सिमलपानी–पावर सडकखण्ड । कपिलवस्तुको बैरिया र पिपरासंग प्रत्यक्ष जोडिने यो सडकखण्डमा पनि धमाधम काम जारी छ । १ करोड ६० लाख बजेटबाट सडकको ग्राभेल र नाली निर्माणको काम भैरहेको हो । यो सडकखण्डमा प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।
सीतापुर–सुर्वणखाल–नेटापोखरा–करापु सडकखण्डमा पनि अहिले धमाधम काम भैरहेको छ । यो बर्ष ७० लाख बजेटबाट काम भैरहेको र आगामी बर्ष बजेट बढाएर काम गर्ने योजना नगरले बनाएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
चाक्ला–जुकेना–बरौला सडकखण्ड अन्तरगतको भाविनमा अहिले पक्की पूल निर्माणको चरणमा छ । व्यवसायिक कृषिको उर्वराभूमिका रुपमा पर्ने यो सडकखण्डको स्तरउन्नतीका लागि केन्द्र सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । हरेक चुनावी भाषणमा नेताको प्राथमिकतामा पर्ने यो सडकखण्ड निर्माण पछि नागरिकको आवाज–जावतमा सहजता आउने मात्र होइन समृद्धिको जग बसाल्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नगरपालिका भित्र केन्द्र सरकारको मुख्य प्राथमिकता परेको सडकखण्ड हो भालुवाङ–लामाताल–नुवाकोट–खरबाङ सडकखण्ड । यो सडकमा केन्द्र सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीको पहलमा परेको यो बजेटले यो बर्ष महत्वपूर्ण काम हुने छ । बाह्रै महिना सवारी आवात–जावत गराउने गरी सडक निर्माण भैरहेको छ, स्रोतले भन्यो ।
नगर प्रमुख अधिकारीले सडकमा बाह्रै महिना सवारी आवात–जावत गराउने गरी काम गरिरहेको बताउनुहुन्छ । लामा दुरीका दर्जनौं सडकलाई पक्की बनाउन बजेट नपुग्ने भएकोले कमसेकम ग्राभेल गरेपनि बाह्रै महिना सवारी चलाउन सकिने उहाँको भनाई छ । ‘पहाडका सडक पक्की बनाउन धैरे लागत लाग्छ । सबै सडकहरु नगरका महत्वपूर्ण सडक हुन् । अहिले यी सडकमा जेनतन ७÷८ महिना मात्र सवारी चल्छन् । हामीले बाह्रै महिना सवारी चलाउने गरी सडक निर्माणको काम गरिरहेका छौं । सडकमा पक्की नाली र गाभ्रेल बनाउन सकियो भने बाह्रै महिना गाडी चल्छन भन्ने हाम्रो विश्वास हो नगर प्रमुख अधिकारीले मायादेवीसंग भन्नुभयो,’–“यति मात्र गर्न सक्यौं भने हाम्रा लागि ठूलो उपलब्धी मानिन्छ । पक्की त पछि–पछि विस्तारै गराउदैँ जान्छौं ।”
भौगोलिक हिसाबमा ठूलो भएपनि बजेटका हिसाबले अरुले पाउने जति पाएकोले सोचेजस्तो विकास गर्न नसकिएको नगर प्रमुख अधिकारीको गुनासो छ । यो कुरा पटक पटक केन्द्र र प्रदेश सरकारमा भनेपनि बजेट प्रयाप्त नआएको उहाँले जनाउनुभयो । ‘सिंगो आधा जिल्ला एउटै नगरपालिका छ । ‘बजेट आउने अरुको जत्तिकै बराबरी हो अब सोचेजस्तो विकास कसरी गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, “यो कुरा केन्द्र र प्रदेश सरकारले बुज्न पर्छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ३ : ०० बजे