काठमाडौं ।
तत्कालीन एमालेको नवौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा चलिरहेको थियो । झलनाथ खनाल समूहबाट वामदेव गौतम एक्लो बृहस्पति बनेर केपी ओली समूहमा गए । उनै गौतमले भृकुटीमण्डपको गुट भेलामा भनेका थिए– ‘माधव नेपाल एउटा सल्लाका रूख हुन्, आफू माथि जाने, तल कसैलाई पनि जाग्न नदिने । यसपटक उनलाई जीवनभर उठ्न नसक्ने गरी ढाल्नुपर्छ ।’
२०७१ सालमा भएको महाधिवेशनमा झिनो मतान्तरबाट अध्यक्षमा पराजित नेता नेपाल पटक–पटक ढले तर उत्ति नै उठे । गौतम भने ढलेका ढल्यै भए । अध्यक्ष ओलीले उनलाई बारम्बार ढालेका हुन् । नेता नेपालले नै उनलाई बारम्बार उठाउनुपरेको छ । तापनि गौतमका खुट्टा ठीक ठाउँमा छैनन् । उनी कहिले केपी, कहिले प्रचण्डनिकट भएको आरोप खेपिरहेका छन् ।
एमालेको त्यो महाधिवेशनयता नेपाललाई अध्यक्ष ओली समूहले निरन्तर प्रहार गर्यो । त्यति प्रहार त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा आफ्ना विरोधी राहुल गान्धीलाई पनि गरेनन् । एमाले महाधिवेशनदेखि माओवादीसँग पार्टी एकतासम्म नेपाल बारम्बार लखेटिए, हेपिए र कर्नरमा पारिए । तापनि पार्टीबाट विचलित भएनन् । उनै नेता नेपाल अहिले ओली समूहका नेताको पूजा गर्ने मौलो बन्न थालेका छन् ।
पार्टीलाई व्यक्तिको इच्छाभन्दा विधि र विधानबाट चलाउनुपर्ने अडान नेपालले तत्कालीन एमालेदेखि राख्दै आएका थिए । पार्टी एकतापछि दुई अध्यक्षको इच्छामा पार्टी चल्यो । विधि र विधानमा नचलेका कारण लाखौं कार्यकर्ताले पार्टी सरकारमा भएको अनुभूति गर्न सकेका छैनन् । पार्टीमा योगदान र क्षमताभन्दा दुई अध्यक्षको ‘चाप्लुसी’ गर्नेहरू मन्त्रीदेखि पार्टीको प्रभावशाली पदमा पुगे । योग्य र क्षमतावान् कार्यकर्ता सधैं रछ्यानबाहिरको माली बने ।
नेपाल पक्षलाई रछ्यानबाहिरको माली बनाउने ओली समूह नै हो । उनको समूहमा बसेर गुटको खेती गर्नेहरू ओलीलाई खुसी बनाउनका लागि नेपालको सार्वजनिक आलोचना गर्न पछि पर्दैनथे । गाउँ, जिल्लादेखि केन्द्रसम्म नेपाल समूहमाथि अन्याय मात्र होइन, अत्याचार गरिएका तथ्यको चाङ छ । अत्याचारकै हिमायतीहरू यति बेला नेपाल निवास कोटेश्वरमा पालो कुरेर बसिरहेका छन् ।
नेकपाभित्रको समीकरण बदलिएको छ । पार्टी सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा छन् । पार्टीको प्रदेश र जिल्ला कमिटी बनाउँदा नेता नेपाललाई यसरी नै अल्पमतमा पारिएको थियो । सांसदको टिकट दिँदा पनि यसरी नै गुटको हतियार चलाएर नेपाल समूहको सफाय गर्ने नियत कार्यकर्ताले मात्र हैन, जनताले पनि बुझेका थिए । यतिसम्म कि टिकट पाएर गाउँ पुगेका नेताको टिकटै खोसिएको थियो । जुन पीडाको भारी जाजरकोटका नीरज आचार्यले भोगे ।
ओली अल्पमतमा परेपछि भने ‘चाटुकार’हरू नेपाल निवास छिर्न थालेका छन् । उनीहरूको नियत स्पष्ट छ– ‘नेपाललाई फकाउन होइन, फसाउन हो’ । ओलीविरुद्धको गठबन्धन टुटाउन उनीहरू दिनरात लागिपरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’को बलियो गठबन्धन बनेको छ । यसलाई तोड्न ओली समूहका नेताहरूले नेपाल निवासमा लिगलिगे दौड थालेका छन् । नेपालको सधैं आलोचना गर्ने नेताहरूको मुहार अहिले बालुवाटारभन्दा कोटेश्वरमा बढी देखिन थालेको छ ।
उनीहरूले पूर्वएमालेको गुट बनाउन कसरत थालेका छन् । नियत छुट्टै गुट बनाएर नेपाललाई नेता बनाउने होइन, प्रचण्डसँग दूरी बढाएर गठबन्धन टुटाउने खेल हो । ‘अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच अहिले सम्बन्ध राम्रो छ । यो सम्बन्धमा ब्रेक लगाउने कोसिस भइरहेका छन्’, नेपालनिकट नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘यस्तो भुमरीमा नेता नेपाल फस्नु हुन्न । गुट होइन, पार्टी बलियो बनाउनुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्छ ।’
ओली समूहका नेताहरूले जनताको बहुदलीय जनवाद (जबज)को नाम दिएर ओली र नेपाल मिल्नुपर्ने तर्क गर्न थालेका छन् । जबज पक्षधर एक हुनुपर्ने र त्यसको नेतृत्व नेपाललाई लिन आग्रह गरिरहेका छन् । नेपाल भने तत्काल जबजको बहस थाल्ने पक्षमा छैनन् । ‘पार्टीभित्रको सैद्धान्तिक बहसमा दुवै नेता एक ठाउँमा हुनुहुन्छ । तर, यही बहानामा पार्टी्भित्र भुमरी पर्दा गर्ने प्रयास भइरहेका छन्’, विदेश विभागका उपप्रमुखसमेत रहेका रिजालले भने ।
नेपालको आलोचना गर्न तत्कालीन एमालेभित्र एउटा संस्था खडा गरिएको थियो– मदन भण्डारी फाउन्डेसन । फाउन्डेसनबाट गरिने सबै कार्यक्रममा नेपाल समूहको चर्काे आलोचना गरिँदै आएको थियो । तर, बिहीबार त्यही संस्थाको कार्यक्रममा नेपाललाई प्रमुख अतिथि बोलाइयो । त्यो प्रयास ओली र नेपाल एक भएको भ्रम पैदा गर्नुबाहेक अरू केही होइन । कतिपय सञ्चारमाध्यमबाट त्यो भ्रम पनि पैदा गरियो । नेपालले कार्यक्रममै जबजको बहस थाल्ने बेला नभएको अभिव्यक्ति दिएर उनीहरूको योजना भताभुंग पारेका छन् ।
ओली समूह अल्पमतमा परेपछि केही समयअघि फाउन्डेसनमा छलफल भएको थियो । त्यहाँ पनि नेता नेपालकै पक्षमा छलफल भएको स्रोतले बताएको छ । पूर्वमाओवादी र प्रचण्डका गतिविधिलाई तह लगाउन नेपाललाई नेता मानेर जाने विषयमा छलफल भएको थियो । त्यसपछि ओली समूहका नेताले कोटेश्वर धाउन थालेका हुन् । –एस काठमाडौंबाट
प्रतिक्रिया