१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

भलवाडमा सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्यो



मायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको वाणगंगा ९ भलवाडमा स्वास्थ्य चौकी निर्माण भएको छ । स्थानीय सरकार नआउँदै अधुरो रहेको स्वास्थ्य चौकी भवनलाई अहिले मर्मतसम्मार गरेर व्यवस्थित पारिएको छ । वाणगंगा नगरपालिकाले ४२ लाखको लागतमा भलवाड स्वास्थ्य चौकी बनाएको हो ।


शनिबार एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद विष्णु पन्थीले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको छ ।


कार्यक्रममा बोल्दै सांसद पन्थीले स्वास्थ्य चौकीको भवन निर्माण पश्चात भलवाडबासीले सुलभ ढंगले स्वास्थ्य सेवा पाउनेमा विश्वास व्यक्त गर्नुभयो । भलवाडमा बनेको स्वास्थ्य चौकी व्यवस्थित रहेको भन्दै अब सेवा पनि गुणस्तरीय दिनुपर्नेमा सांसद पन्थीले जोड दिनुभयो ।


बिकास संग-संगै जनताको स्वास्थ्य माथि उठाउन सकेमा मात्र बिकासको सार्थकता हुने भन्दै उहाँले राज्यले स्वास्थ्यमा ठूलो लगानी गरे पनि अनुरुप लक्ष्य प्राप्त भने हुन नसकेको बताउनुभयो । अब प्रदेशबाट बर्थिङ्ग सेन्टर सिघ्र सञ्चालन हुने र एम्वुलेन्स सेवा पनि निकट भविष्यमा आउने भन्दै अब सेवाग्राहीले राम्रो सेवा पाउने दाबी गर्नुभयो ।


नगरका उप प्रमुख चक्र अर्यालले अधुरो भलवाड स्वास्थ्य चौकी भवनलाई नगरले सम्पन्न गरेको भन्दै नगरका अरु वडामा पनि सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्न थालेको जानकारी दिनुभयो ।

नगरपालिका भित्र रहेका पिपरा अस्पताल, पटना स्वास्थ्य चौकी, हथौसा, कोपवा, मोतिपुर र भलवाड स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको लागि नगरको नीति तथा कार्यक्रममा राखेर वजेट विनियोजन गरेको नगर उप प्रमुख अर्यालले बताउनुभयो ।


भलवाड स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको साथसाथै ल्याब पनि सञ्चालन गर्ने नगरको योजना रहेको उहाँले सुनाउनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले राज्यले प्रदान गर्दै आएको औषधी नगरका सबै स्वास्थ्य चौकीका प्रयाप्त मात्रामा रहेको भन्दै नगरमा औषधी अभाव हुन नदिइने प्रतिवद्धता जनाउनुभयो ।


लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनालले प्रदेश नं. ५को प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीको अत्यधिक चाप बढेको भन्दै प्रदेश सरकारले १२ सय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न थालेको जानकारी दिनुभयो । त्यसको लागि प्रदेश सरकारले गुरुयोजना बनाइ सकेको उहाँले बताउनुभयो ।


वडा नं. ९ का वडाध्यक्ष ध्रुव वेल्वासेले २०५० सालमा उप स्वास्थ्य चौकीबाट स्तररोन्नती भई स्वास्थ्य चौकी हुँदै हाल आफ्नै भवनबाट सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । यो स्वास्थ्य चौकी निर्माणमा साविक भलवाडका सम्पूर्ण अग्रज, समाजसेवी, बुद्धिजिवी, सवै धन्यवादका पात्र रहेको भन्दै नगरबाट भौगोलिक बिकटता रहेपनि बिकासले क्रमशः गति लिन थालेको बताउनुभयो ।


कार्यक्रममा स्वास्थ्य संस्थामा अनवरत रुपमा निरन्तर कार्य गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविका, भवन निर्माण उपभोक्ता समितिका अध्यक्षहरु रोम बहादुर खत्री, मित्रलाल पौडेल, समाजसेवी कुमार मधु वेल्वासे, हरिराज घिमिरेलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।


भलवाड स्वास्थ्य चौकीका प्रमुख जित बिकास रायमाझीले स्वास्थ्य संस्थाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


साथै उक्त अवसरमा वाणगंगा नगर नगर कार्यपालिकाको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्राविधिक सहयोगमा भएको १ दिवसीय महिला रोग सम्वन्धी विशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ८५ जनाले सेवा लिएका छन् । जसमा ७० जनाले पाठेघरमा हुन सक्ने क्यान्सर सम्वन्धिको परीक्षण भएको बताइएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले भिडियो एक्सरे सेवा, औषधी निःशुल्क रुपमा वितरण गरेको भलवाड स्वास्थ्य चौकीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ९ : ३६ बजे