९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सकियो आठ दिने आधारभूत पत्रकारिता तालिम



मायादेवी अनलाइन, विजनगर ।
कपिलवस्तुको विजयनगरमा सञ्चालित आठ दिने आधारभूत पत्रकारिता तालिम शनिबार सकिएको छ । फाल्गुण १७ गते देखि गाउँपालिकाको खडैचामा सञ्चालित रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सकिएको हो ।
तालिम समापनमा बोल्दै विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समाज अझै पनि मिडियाबाट विमुख रहेको बताउँदै गाउँपालिकाका हरेक वडामा सञ्चारकर्मीको खाँचो रहेको बताउनुभयो । गाउँपालिकाले सञ्चारकर्मी उत्पादनमा आवश्यक सहयोग गर्ने बताउँदै उहाँले यो तालिमले धेरै सञ्चारकर्मी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालका कारण पत्रकारिता पेशामा विश्वसनियतामा कमी आएको उल्लेख गर्दै सञ्चारकर्मीले सत्य, तथ्य र सन्तुलिन ढंगबाट समाचार पस्कनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता बौद्धिक जमातले गर्ने पेशा रहेको भन्दै यसमा अध्ययन, खोज र अनुसन्धान जरुरी रहेको बताउनुभयो । अझै पनि खोज पत्रकारिता समाजमा आवश्यक रहेको भन्दै त्यता तिर ध्यान दिन उहाँले आग्रह गर्नुभयो । गाउँपालिका मिडियामैत्री रहेको भन्दै आगामी दिनमा दक्ष सञ्चारकर्मी उत्पादनमा आफ्नो तर्फबाट सहयोग रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका भित्रका ३५ जना सहभागी रहेको तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी र मायादेवी रेडियो र अनलाइनका सम्पादक दिपक अनुरागी लगायतले बोल्दै तालिम लिने मात्र नभई व्यक्तिगत जीवनमा उपयोग गर्न आग्रह गर्नुभयो ।
८ दिने तालिममा रेडियो पत्रकारिता, मञ्चिय उद्घोषण, समाचार लेखन लगायतका विषयबस्तुबारे जानकारी गराईको थियो ।
रेडियोका अध्यक्ष रामप्रघट कोरीले गाउँपालिका भित्र दक्ष सञ्चारकर्मी उत्पादन गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको बताउनुभयो । गाउँपालिका भित्र सामुदायिक रेडियो प्रशारण गरेर सञ्चारको पहुँचमा गाउँपालिकाबासीलाई जोडेको भन्दै अब दक्ष सञ्चारकर्मी उत्पादन गरेर समुदायको आवाज बोल्ने रेडियोको रुपमा विजयनगरलाई लैजान खोजेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  ८ : ०४ बजे